बागमतीका ‘सबै नीतिमा स्वास्थ्य’



हेटौंडा ।

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य क्षेत्र’ कार्यान्वयनमा ल्याउने प्रयास थालिएको छ ।
सोमबार मन्त्रालयको आयोजनामा ‘सबै नीतिमा स्वास्थ्य’ निर्देशक समितिको बैठकले प्रदेशका सबै विषयगत मन्त्रालयको सहभागितामा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा तयार गरी २०८० साल फागुन ८ गते प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भई २०८० चैत ८ गते प्रदेश राजपत्रमा प्रकाशित ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ मा उल्लेखित विषयगत मन्त्रालयले गर्नुपर्ने स्वास्थ्यसम्बन्धि क्रियाकलापमाथि छलफल गरी आगामी आवको नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा उक्त क्रियाकलापलाई समावेश गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ को दफा ८ (ग) अनुसार सबै मन्त्रालयले एक जना सबै नीतिमा स्वास्थ्य सम्पर्क व्यक्ति तोकी जेठ १५ गतेभित्र मन्त्रालयमा जानकारी गराउने निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ को दफा ९ को उपदफा (५) बमोजिम कार्यविधि तयार गरी आगामी बैठकमा पेस गर्ने, ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ कार्यान्वयनका लागि सबै सरोकारवाला निकायहरुसम्म प्रचारप्रसार गर्न मुख्यमन्त्री तथा विषयगत मन्त्रालयका मन्त्रीहरुलाई आमन्त्रण गरी जेठभित्र सार्वजनिकीकरण कार्यशाला गोष्ठी गर्ने र प्रदेश सरकारले जारी गरेको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ लाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि उक्त निर्देशिकामा उल्लेख भएका क्रियाकलापलाई स्थानीय तहको आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा समावेश गर्नका लागि प्रदेशका सबै स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यान्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने विश्वास व्यक्त गरे । सोमबार मन्त्रालयको आयोजनामा भएको बैठकमा मन्त्री श्रेष्ठले स्वस्थ्य र निरोगी जीवनशैलीका लागि आफ्नो जीवनयापन पनि ठीक राख्नु जरुरी रहेको बताए ।

स्वस्थ्य हुनका लागि खानपानमा ध्यान दिनुपर्ने बताउँदै मनोसामाजिक स्वास्थ्यमा पनि ध्यान दिनु आवश्यक भएको भन्दै आत्महत्या न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखिएको बैठकमा जानकारी गराए ।

‘सबै नीति स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८१’ अनुसार सबै नीतिमा स्वास्थ्य निर्देशक समितिको बैठकमा प्रदेशका कामु प्रमुख सचिव गोबिन्दबहादुर कार्कीको सभाध्यक्षता थियो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका निजी सचिव लक्ष्मी कुमार, सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारी, भौतिक पूर्वाधार विकास मन्त्रालय महाशाखा प्रमुख रमेश महर्जन, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव भरतप्रसाद बिडारी, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव पेशल कुमार, स्वास्थ्य मन्त्रालयका बद्रीबहादुर खड्कालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्