त्रियुगाका संस्थागत विद्यालयको वर्गीकरण



 उदयपुर । 

त्रियुगा नगरपालिकाले आफ्नो पालिका भित्र रहेको संस्थागत विद्यालयको तोकिएको १४ सूचक मापदण्डका आधारमा वर्गीकरण गरेको छ ।
सोमबार त्रियुगा नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश सरकार र त्रियुगा नगरपालिकाको शिक्षा ऐनका आधार र कार्यविधि अनुसार विद्यालय मापन सूचकका आधारमा वर्गीकरण गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु भक्त सिग्देलले त्रियुगा नगरपालिका भित्रका संस्थागत विद्यालयको नगरपालिका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख, नपाका विभिन्न वडाका वडाध्यक्षहरुको सहभागितामा अनुगमन गरिएकोमा तोकिएको मापदण्ड कतिपयले पुरा गरेको र कतिपयले पुरा नगरेका कारण सोही अनुरुप बर्गिाकरण गरिएको बताए ।

सो पत्रकार सममेलनमा त्रियुगा नगरपालिकाका प्रवक्ता एवम् ३ नं वडाध्यक्ष तिलक बहादुर कटुवालले त्रियुगा नपाभित्र जम्मा ४६ वटा स.स्थागत विद्यालय रहेकोमा २ वटा ख श्रेणीमा, ८ वटा ग श्रेणीमा र ३६ वटा विद्यालय घ श्रेणीमा बर्गिाकरण गरिएको जानकारी दिएका थिए ।

उक्त पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले संस्थागत विद्यालयहरुसँग विद्यालयको भौतिक संरचना तथा अन्य व्यवस्थापनका बारेमा स्वघोषणा माग गरेकोमा ४६ वटा विद्यालय मध्ये २२ वटा विद्यालयले मात्र जवाफ लेखि पठाएको बताए। स्वघोषणा अनुसार अनुगमन गर्दा पूर्णाङ्क राखेर मुल्यांकन गरिएकोमा कतिपय विद्यालयको अवस्था तोकिएको मापदण्ड विपरीत देखिएको, शिक्षकहरुलाई न्यून तलब दिएको, भौतिक पूर्वाधार नभएको, शौचालय, खानेपानी, खेल मैदान, सवारी साधन, शुल्क अत्यधिक बढी लिने गरेको र सेवा सुविधाका नाममा केही नभएको पाइएको नगरपालिका प्रमुख बस्नेतले बताए ।

मेयर बस्नेतले संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक परिपत्र पठाएर नगर पालिकाले निर्देशिका तयार पारी शुल्क निर्धारण समिति बनाउने र शुल्क तोक्नु भन्ने पत्र प्राप्त भएकोले सोही अनुरुप काम गरिएको बताए ।

कार्यक्रममा उप मेयर महेश्वरी राईले नगरपालिका भित्रका संस्थागत विद्यालयको अव्यवस्थालाई व्यवस्थित रुपले संचालन गर्न नियमानुसार कार्यविधि बनाएर अनुगमन पश्चात् शुल्क तोकेर वर्गीकरण गरिएको बताइन् ।

नगरपालिकाले संस्थागत विद्यालयको शुल्क तोक्दा प्याव्सन, एन प्याव्सनका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि वडाध्यक्षहरु समेत बसेर तोकेको भए पनि पछिल्लो समयमा संस्थागत विद्यालयहरुले शुल्क तोकेकोमा नगरपालिकाको निर्णय विरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्