लुनिभाद्वारा  ९३ जनालाई शैक्षिक सामाग्री प्रदान 

224
Shares

ललितपुर । 

लुनिभाः बाल सरोकार समूह नेपालले ९३ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा ललितपुर प्रदेश ३ क का सांसद प्रेमभक्त महर्जनले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । जिल्लाका अति विपन्न , दलित , असहाय बालबालिकालाई फोकल शिक्षकको माध्यमबाट छनौटमा परेका ६० जना छात्रा र ३३ जना छात्रलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

 शैक्षिक सहायत कार्यक्रम अन्तर्गत लुनिभाःले ब्याग, कपी, किताब, कलम, क्याल्कुलेटर, जोमेट्री बक्स लगायतका  सामाग्री हस्तान्तरण गरेको हो ।  फिनल्यान्ड र नेपालका केही दाताबाट सङ्कलन भएको रकमबाट उक्त सामाग्री वितरण गरिएको संस्थाले  जनाएको छ । संस्थाले वार्षिक सयबढी विद्यार्थीलाई शैक्षिक सामाग्रीको साथै छात्रवृत्ति प्रदान गरिरहेको छ । कार्यकारी निर्देशक नरेन्द्र डंगोलले अब नेपालीबाट दैनिक २५ रुपियाँ सहयोग लिएर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए । त्यसको लागि सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सहयोगको याचना गरेका थिए ।

 ललितपुरको आदर्शशील माविमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि महर्जनले शिक्षाको दान सबैभन्दा ठुलो दान भएको बताए । शैक्षिक सामाग्री हस्तान्तरण गर्दै उनले आफूबाट दैनिक २५ रुपियाँ  सहयोग गर्ने घोषणा गरे । संस्थाले यो वर्ष २ सयजलाई छात्रवृत्ति दिएकोमा संस्थाप्रति आभार व्यक्त गरे । उनले  विद्यार्थीले पाएको सहयोगको सही सदुपयोग गर्न आग्रह गरे ।

  कार्यक्रममा कार्यकारी निर्देशक डंगोलले पढाईको अधिकारबाट कोहीपनि वञ्चित हुन नपरोस् भनी हरेकवर्ष विपन्न विद्यार्थीलाई सहयोग  जारी राखेको बताए । कार्यक्रम संयोजक कृष्णगोविन्द महर्जनले बालबालिकाको  सहयोगको लागि निरन्तर लागेको संस्थाले हरेक वर्ष छात्रवृत्ति र शैक्षिक सामग्री वितरण जारी राखेको बताए ।

 लुनिभाःका कार्यक्रम व्यवस्थापन सन्तराम डंगोलले संस्थाको सहयोगले बालबालिकाले पढ्न पाएको बताए । उनलेभने–’अब २५ रुपियाको नया अभियान सञ्चालन गरेका छौ, अभियानमा जुट्न सबैलाई आग्रह गर्दछौ ।’

कार्यक्रममा बालबालिकाको तर्फबाट सृष्टि श्रेष्ठ, अभिभावकको तर्फबाट सुन्तली थिङ, फोकल शिक्षकको तर्फबाट रिता श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीसँगै अभिभावकको भेला समेत आयोजना भएको थियो ।