अवैध गोलिया काठसहित स्कोरपियो नियन्त्रणमा

406
Shares

रौतहट ।

 साइकल, मोटरसाईकलमा हुने गोलिया काठ तस्करी पछिल्लो समय स्कोरपियोमा समेत हुन थालेको छ । प्रहरी र बनरक्षकको नजर स्कोरपियोमा नजाने भएपछि तस्करहरूले नयाँ  जुक्ति निकाल्दै स्कारपियोमै लोड गरेर गोलिया काठ गन्तव्यमा पुर्‍याउने गरेको पाइएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको तीन थान गोलिया काठ लोड भारतीय नम्बर प्लेटको स्कोरपियोलाई डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको बनगस्ति टोलीले पूर्व  पश्चिम राजमार्गको चन्द्रनिगाहपुरदेखि पूर्व २ नम्बर लच्कामा नियन्त्रणमा लिएपछि तस्करहरूले स्कारपियो प्रयोग गर्ने गरेको खुलेको हो ।

 बन गस्ति टोलि देखेपछि चालकले स्कारपियो छाडेर भागेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका सहायक बन अधिकृत अनिक कुमार महतोले बताए । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको बनगस्ति टोलीले यसअघि पिकअप भ्यान र बसमा समेत तस्करी गर्दै गरेको गोलिया काठ बरामद गर्दै आएको थियो ।

राजमार्गका दर्जनौँ स्थानमा प्रहरीको चेकिङ हुने गरेपनि अवैध बस्तुको ओसारपसार नियन्त्रणमा आउन सकेको छैन । तस्करहरुको नयाँ तरिकाले संरक्षण निकायलाई चुनौती  थपिदिएको छ । पछिल्लो समय बन संरक्षण भन्दा पनि फडानी र तस्करी भइरहेको स्थानीयको भनाई रहेको छ ।