अधिकांश ट्राभल एजेन्सी अवैध,१४को अनुगमन गर्दा ११ लाई कारबाही

154
Shares

 बुटवल।

जिल्ला अनुगमन समितिले रुपन्देहीको बुटवलमा सञ्चालित ११ वटा ट्राभल एजेन्सीलाई पहिलो पटक चेतावनी स्वरुप जनही २० हजारका दरले  जरिवाना गरेको छ । दर्ता, नवीकरण र शाखा संचालन अनुमति नलिएका ट्राभललाई कारबाही गरिएको हो ।

 बिहीबार जिल्ला प्रशासन र पर्यटन डिभिजन कार्यालयसहितको संयुक्त अनुगमन समितिले मापदण्ड पूरा नगरी संचालनमा रहेका ट्राभललाई कारबाही गरी तत्काल आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । समितिले बुटवल उपमहानगरपालिका–९ मा रहेका १४ वटा ट्राभलहरुको अनुगमन गरेको थियो ।

जसमध्ये ३ वटा कानुनसम्मत संचालनमा रहेको पाइए पनि बाँकी ११ वटा भने मापदण्डअनुसार नपाइएपछि जरिवानासहित कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले बताए । उनका अनुसार कारबाहीमा परेका ट्राभल एजेन्सीहरु दर्ता विनै संचालन गरिएको, कपिलवस्तु र रुपन्देहीका विभिन्न ठाउँमा प्रधान कार्यालय खोलेर शाखा संचालन गरिए पनि अनुमति नलिइएको, नवीकरण नगरी संचालन गरिएको पाइएको छ ।

समितिले सरकारी निकायबाट लिनुपर्ने इजाजतपत्र नलिई सञ्चालनमा रहेका रुद्रावती टुर्स एण्ड ट्राभल, खलंगा सुपादेउराली टुर्स प्रालि, लुम्बिनी हिमालय टुर एण्ड ट्राभल प्रालि, सुपादेउराली टुर एण्ड ट्राभल प्रालि, श्री दुर्गेश्वरी ट्राभल प्रालि, जनसगरमाथा टुर एण्ड ट्राभल, नमस्ते बिहानी टुर एण्ड ट्राभल, न्यु सागर एण्ड सगरमाथा र्टुस एण्ड ट्राभल, न्यु सुपादेउराली माँ टुर्स एण्ड ट्राभल प्रालि, श्री शुभसाइत टुर्स एण्ड ट्राभल प्रालि र सुपादेउराली टुर्स एण्ड ट्राभललाई जरिवानासहित कारबाही गरेको हो । यी ११ वटै ट्राभल एजेन्सीलाई कारवाहीस्वरुप जनही २० हजारका दरले दुई लाख २० हजार जरिवाना तिराइएको पर्यटन डिभिजन कार्यालय, रुपन्देही प्रमुख गीता आचार्यले बताइन्।

प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नु पूर्व अनुमति लिनपर्ने व्यवस्था छ । यदि अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर दर्ताबिनै सञ्चालनमा रहेका र नवीकरण नगरेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारबाही गरिएको हो । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशसनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको छ । तर, अहिले बजारको सुस्ताएको आर्थिक अवस्थालाई हेरेर प्रदेश पर्यटन ऐन अनुसार कारबाही गरिएको हो । अनुगमन गरिएका ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै संचालन गर्न निर्देशन गरिएको छ । कारबाहीमा परेका ट्राभलको पुनः अनुगमन गरिने आचार्यले बताइन् । उनका अनुसार मापदण्ड पूरा नगरी संचालनमा रहेको भन्दै कार्यालय ट्राभलबारे जनमानसबाट गुनासो आउने गरेका छन् ।

 त्यस्ता गुनासाहरुलाई कार्यालयले सम्बोधन गरी मापदण्ड पालना नगर्ने व्यवसायीलाई कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा धेरै शाखा संचालनको अनुमतिबिना र केही ट्राभल नवीकरणबिनै सञ्चालन गरेको पाइएपछि त्यस्ता ट्राभल एजेन्सीलाई एक महिनाभित्र  आवश्यक सबै निकायमा दर्ता र नवीकरण गरी जिल्ला प्रशासन वा पर्यटन डिभिजन कार्यालयमा जानकारी गराउन निर्देशन दिइएको छ । अनुगमन समितिले गत चैत्रमा भैरहवाका १६ वटा ट्राभलको अनुगमन गरी ३ वटालाई कारबाहीसहित जरिवाना गरेको थियो । जिल्लामा दर्तावाला ट्राभल २ सय ५० को हाराहारीमा छन् । तर, त्यसमध्ये एक सयको हाराहारीमा रहेका ट्राभलले नवीकरण नै गरेका छैनन् ।