उपत्यकाका ९ सम्पदा ८ वर्षदेखि पुनर्निर्माण भएनन्



काठमाडौं ।

शक्तिशाली भूकम्प गएको ९ वर्ष पुग्दा पनि विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका ७ सम्पदाले पूर्णता पाउन सकेका छैनन् । केही सम्पदा स्थानीय निकायका कारण त केही ठेक्का विवाद र उपभोक्ता समितिमा देखिएको समस्याका कारण पूरा हुन सकेका छैनन् । त्यसमध्ये एउटा सम्पदाको विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

२०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण हनुमानढोका, भक्तपुर र पाटन दरबारमा ७५ मध्ये ५० ध्वस्त र बाँकी आंशिक क्षति भएका थिए। तीमध्ये हनुमानढोका परिसरका १८ पूर्ण र ११ वटामा आंशिक क्षति पुगेको थियो। पाटनमा २७ सम्पदामध्ये धेरैजसो पूर्ण र केहीमा आंशिक क्षति भएको थियो । भक्तपुरमा करिब ३५ सम्पदामा क्षति पुगेको थियो ।

पुरातत्व विभागका प्रवक्ता वरिष्ठ पुरातत्व अधिकृत रामबहादुर कुँवरले विश्वसम्पदा क्षेत्रभित्र रहेका केहीबाहेक सबै सम्पदा पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो । ‘केही सम्पदा पुनर्निर्माण गर्न विवाद छ, तीबाहेक अधिकांश पुनर्निर्माण सम्पन्न भइसकेका छन्’ –प्रवक्ता कुँवरले भन्नुभयो ।

उहाँका अनुसार हनुमानढोकाको नेपाल संस्कृत विश्वविद्यालय र आदर्श स्कुलले भोगचलन गरेको भवन काठमाडौं महानगरले बनाउने तयारी गरेको छ । आगम छें धार्मिक कारणले विवाद भएको थियो, अहिले समाधान भइसकेको छ।

कुमारीघरमा धेरै क्षति भएको छैन उक्त भवन कामपाले बनाउने तयारी गरिरहेको छ। भूकम्प अघि नै पुनर्निर्माण सम्पन्न भइसकेको हनुमानढोका परिसरको नारायण मन्दिर वैशाख १२ को भूकम्पले ध्वस्त बनाएपछि पुरानै ठेकेदारको भुक्तानी नगरी अहिले कसले बनाउने भन्ने विषयमा विवाद छ।

हनुमानढोका दरबार क्षेत्र विकास समितिका प्रमुख सन्दीप खनालले हनुमानढोका परिसरमा ध्वस्त र क्षति पुगेका २८ मध्ये हाल एकाधबाहेक सबै पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो। भूकम्पले ध्वस्त सम्पदामध्ये हनुमानढोका प्रहरी कार्यालय पुनर्निर्माण हुन सकेको छैन । सो भवनको स्वामित्वको विषयमा केही समस्या भएपछि उक्त भवन पुनर्निर्माण हुन नसकेको हो।

उहाँले भन्नुभयो– ‘हाल सुन्दरीचोक र मोहनकाली चोक परिसरको भित्री भवन, लक्ष्मीनारायण सत्तल, कामदेव, आगम छें, संस्कृत विद्यालय, गोपीनाथ र जगन्नाथ मन्दिर पुनर्निर्माण चरणमा छ । भूकम्पले ध्वस्त वसन्तपुर दरबारको पुनर्निर्माण सम्पन्न भइसकेको छ।’

पाटन दरबारक्षेत्र परिसरका एकाधबाहेक अधिकांश सम्पन्न भइसकेका छन्। ‘तीमध्ये देगु तलेजु, नर्सिङ, अदालत भवन, भाइदेग र शंखमूलको जगत्नारायण मन्दिर छन्। तीमध्ये जगत्नारायण मन्दिर पुनर्निर्माण गर्ने विषयमा विवाद भएपछि मुद्दा परेको छ। बुंगमतीको रातो मच्छिन्द्रनाथ मन्दिर उपभोक्ता समितिको विवादका कारण बजेट नपुगेर रोकिएको छ।

पाटन दरबारक्षेत्र विकास समिति प्रमुख मञ्जु भण्डारीले दरबारक्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माण भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुई तीनवटा बाँकी सम्पदा पुनर्निर्माणको चरणमा छौं, चाँडै सम्पन्न हुनेछ।’

भक्तपुरमा भूकम्पले ध्वस्त र क्षतिग्रस्त ४७ सम्पदामध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन् । भक्तपुर दरबार क्षेत्र विकास समितिका प्रमुख अरुणा नकर्मीले कोरक्षेत्रका केहीबाहेक सबै सम्पदा पुनर्निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘लाल बैठकको बारेमा केही समस्या थियो । समाधान भएर पुननिर्माणको चरणमा छ।’

उहाँका अनुसार सो बैठक मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नुपर्ने स्थानीयको भनाइ थियो । पुरातत्व विभागले विश्व सम्पदा क्षेत्रमा भएका सम्पदा अहिलेकै शैलीमा पुनर्निर्माण हुने बताएको थियो ।

‘त्यो सामान्य विषय हो, अब पुनर्निर्माण गर्दा स्थानीय निकाय र कार्यालयको आपसी समझदारीमा पुनर्निर्माण हुनेछ’ –कार्यालय प्रमुख नकर्मीले भन्नुभयो। उहाँका अनुसार भक्तपुर दरबारक्षेत्रमा सम्पदा पुनर्निर्माण गर्न स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो ।

विभागका प्रवक्ता कुँवरले देशैभरको सम्पदाको आँकलन गर्दा ९ वर्षमा ध्वस्त र क्षतिग्रस्त ९ सय २० मध्ये वर्षमा ७ सय ८० सम्पदा पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्व विभागले गत वर्ष ७ सय ६० वटा सम्पदा पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विसं २०७२ साल वैशाख ११ र २९ गते गएको को शक्तिशाली भूकम्पका कारण मुलुकभर ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएको जानकारी गराउँदै तीमध्ये अब १ सय ४६ वटा सम्पदा पुनर्निर्माण गर्न बाँकी रहेको बताउनुभयो।

विभागले हालसम्म झन्डै ८५ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ। तथ्याङ्कअनुसार हालसम्म सय वर्ष पुराना ५ वटा गुम्बा र अन्य ९ वटा गरी १५ वटा सम्पन्न भएको जनाएको छ।

विभागका महानिर्देशक प्रधानाङ्गले समयमा बजेट उपलब्ध भए भूकम्प क्षतिग्रस्त सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न करिब ३ वर्ष लाग्ने जानकारी दिनुभयो। तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थिए।

काम शुरू हुन नसकेका सम्पदाहरू

–रातो मच्छिन्द्रनाथ, बुंगमती
–जगत्नारायण, शंखमूल
–कुमारीघर, हनुमानढोका दरबारक्षेत्र
–आगम छें, हनुमानढोका दरबारक्षेत्र
–संस्कृत विश्वविद्यालयले भोगचलन गरेको भवन, हनुमानढोका दरबारक्षेत्र
–नारायण मन्दिर, हनुमानढोका दरबारक्षेत्र
–हनुमानढोका प्रहरी कार्यालय, हनुमानढोका दरबारक्षेत्र
–लाल बैठक, भक्तपुर दरबारक्षेत्र

प्रतिक्रिया दिनुहोस्