क्याम्पस प्रमुख कुँबर भन्छन्-  म अपराधी हुँ र ? ब्यानर नहटाएसम्म क्याम्पस पस्दिन 

742
Shares

 ललितपुर ।  

पाटन संयुक्त क्याम्पसमा एक महिनादेखि लागेको ताला   बिदाको दिन खुलेको छ । ताला खुलेपनि क्याम्पस प्रमुख लक्ष्मण सिंह कुँबरलाई प्रवेश निषेध लेखिएको ब्यानर हटाइएको छैन ।  तालाबन्दी हुँदा  करिब १ हजार ५ सय विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने समाचार न्युज अफ नेपालले प्रकाशित गरेपछि तालाबन्दी गरेका विद्यार्थीले ताला खोलेका थिए।

क्याम्पस प्रमुख कुँबरलाई प्रवेश निषेध लेखेको ब्यानर मूल गेटमा राखेर आन्दोलन थालेका संयुक्त विद्यार्थी संगठनले माग पूरा नभएसम्म ताला नखोल्ने अडान राखेका थिए । लगातार तालाबन्दीको कारण क्याम्पसको सम्पूर्ण गतिविधिमा असर पर्न थालेपछि त्रिभुवन विश्वविद्यालयले प्रहरी लगाएर ताला खोल्ने तयारी गरेको थियो ।

तर दबाब थेग्न नसकेपछि संयुक्त विद्यार्थी संगठनको नाममा आन्दोलन गरेको विद्यार्थीले ताला खोलेका थिए । ताला खोलेपनि क्याम्पस प्रमुख क्याम्पस प्रवेश नगर्ने भएका छन् । म अपराधी हुँ र मेरो फोटो मूल गेटमा राखेर निषेध गर्ने ? उनले फोटो भएको ब्यानर नहटाएसम्म आफू क्याम्पस नछिर्ने स्पष्ट पारे । क्याम्पस प्रमुखमाथि भएको ज्यादतीको विरुद्धमा नेपाल प्राध्यापक संघ पाटन संयुक्त क्याम्पसले आज पेन डाउन गरी पठनपाठन ठप्प पारेको थियो ।

आज पेन डाउन गरेको थियौ , वार्ता र सम्बादको लागि भोलीबाट फिर्ता लिएका छौ–संघका अध्यक्ष केसीले भने । क्याम्पसमा अझै सहज वातावरण बन्न सकेको छैन । वार्ताको ढोका खुलै होस भनेर आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौ–उनको भनाई थियो ।

आन्दोलनरत विद्यार्थी संगठनले आफ्नो स्वार्थ पुरा हुनेगरी माग राखेपछि क्याम्पस प्रशासनले त्यसको वेवास्ता गरेको थियो । भित्री कारण नेताको आफन्त र नेतालाई जागिर खुवाउनको लागि ताला बन्द गरिएको क्याम्पसका शिक्षक र कर्मचारीले बताएका छन् । तर यस बारेमा क्याम्पस प्रमुख कुँबरसंग जानकारी लिन खोज्दा माग बाहेक अन्य विषयमा आफूलाई जानकारी नभएको बताए ।

क्याम्पस प्रमुखले बोल्न नचाहेपनि  आन्तरिक आन्दोलन यही विषयमा रहेको शिक्षकको भनाई छ । ताला लगाउने विद्यार्थीले पुरा भैसकेका मागलाई अघि सारेर आन्दोलन गरेको आरोप लागेको छ । कम्प्युटर खरिद,  खानेपानी र शौचालय व्यवस्थापनको माग पुरा भैसकेको छ । क्यान्टिन आज कोटेसन खोल्ने भएको छ ।

स्ववियु कोषाध्यक्ष तीलक कुमालले  क्याम्पसमा ताला खुलेको बताए । तर समस्या समाधान हुन सकेको छैन । यस विषयमा छलफल जारी राखेका छौ–उनको भनाई थियो ।

विद्यार्थी संगठनले केही सक्कली र अधिकांश नक्कली माग राखेर क्याम्पस प्रमुखमाथि अनुचित दबाब दिन थालेका छन्।

अधिकांश माग पुरा भैसकेको अवस्थामा तालाबन्दी गर्नु उचित नभएको स्ववियु कोषाध्यक्ष कुमालको भनाई छ ।  क्याम्पसको ताला खुलेको विषयमा स्ववियु सभापति सुशील विष्टसंग जानकारी लिन खोज्दा मोबाइल उठाएनन्।