भर्ना अभियानअगावै देशैभर पर्याप्त पाठ्यपुस्तक

१ हजार २ सय ६७ बिक्रेतामार्फत् बिक्री वितरण

112
Shares

काठमाडौं ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र शुरु हुनु तीन दिन अगाबै देशैभर पर्याप्त मात्रामा पाठ्यपुस्तक पुगेको जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री सुमना श्रेष्ठले भर्ना अभियान अगाबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनकशिक्षाले देशैभर पाठ्यपुस्तक पुर्‍याउन शुरु गरेको हो। जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले गत बुधबारबाट सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिनुभयो।

जनक शिक्षाले हिमाली जिल्लामा चैत ९ गतेबाट पाठ्यपुस्तक बिक्रि शुरु गरेको थियो। त्यसपछि पहाडी र बाँकी सबै जिल्लाबाट बिक्रि शुरु गरेको थियो। जनक शिक्षाले ७ प्रादेशिकसहित ९ वटा बिक्रि केन्द्रबाट चालु शैक्षिकसत्रको लागि चैत १५ बाट पाठ्यपुस्तक बिक्रि खुला गर्ने तयारी थियो।

प्रबन्ध सञ्चालक झाका अनुसार देशभर १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्रि वितरण भइरहेको छ । बिहीबार इदको बिदा नपरेको भए करिब १ करोड १५ लाख थान पाठ्यपुस्तक बिक्रि भैसक्ने जिकिर गर्दै उहाँले लगातार बिदाको कारण पाठ्यपुस्तक बिक्रिमा केही समस्या देखिएको बताउनुभयो । जनक शिक्षाले हालसम्म करिब १ अर्ब ५ करोड रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्रि गरिसकेको छ । बाँकी पाठ्यपुस्तक बैशाखको पहिलो साताभित्र बिक्रि भैसक्ने अनुमान गरिएको छ ।

कुनै कारणबाट पाठ्यपुस्तक पुग्न नसके तत्काल केन्द्रीय कार्यालयमा गुनासो गर्न वा प्रादेशिक कार्यालयबाट खरिद गर्न आग्रह गर्दै प्रबन्ध सञ्चालक झाले भन्नुभयो–‘पाठ्यपुस्तकमा कुनै समस्या देखिए तत्काल खबर गर्नुस, हामी सम्बन्धित क्षेत्र, विद्यालय वा स्थानीय तहमा पाठ्यपुस्तक पुर्‍याउनेछौ ।’

जनक शिक्षाका अनुसार शैक्षिक सत्र २०८० मा १ करोड ३३ लाख थान मात्र बिक्रि भएको थियो । आगामी शैक्षिकसत्रमा १ करोड ४० लाख थान जति बिक्रि हुने प्रक्षेपण गरिएको छ। सो आधारमा अब करिब १० प्रतिशत मात्र पाठ्यपुस्तक बिक्रि हुन बाँकीे छ।

आगामी शैक्षिकसत्रका लागि जनक शिक्षाले १ करोड ७४ लाख थान पाठ्यपुस्तक छापेको छ। तथ्याङकअनुसार कक्षा १ देखि १० अध्ययनरत् करिब ५० लाख विद्यार्थीका लागि लागि झण्डै १ करोड ७४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ।

जनक शिक्षाले नेपालगंज, धनगढी, पोखरा, भरतपुर, सुर्खेत, विराटनगर, जनकपुर, बुटबल र सानोठिमीस्थित मुख्यालयको बिक्रि केन्द्रबाट पाठ्यपुस्तक बिक्रि गरिरहेको छ।