“देश–विदेशका सूचना क्षण–क्षणमा प्रवाह गर्न सञ्चारमाध्यमको अभाव छैन । तर समुदायका नागरिकको आवाज र भावना समुदायकै भाषाशैलीमा प्रस्तुत गर्ने दायित्व भनेकै सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमले मात्र निर्वाह गर्न सक्छन्”, उहाँले भन्नुभयो । सामुदायिक रेडियोको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था रहेको उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि स्थानीय सञ्चारमाध्यम बढी समुदाय केन्द्रित हुनुपर्ने बताउनुभयो ।
स्थानीय सञ्चारमाध्यम स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने अझ आकर्षण बढेर जाने उहाँको भनाइ थियो । सञ्चारमाध्यमको बढ्दो सङ्ख्या र सूचना प्रविधिमा आएको परिवर्तनका कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै मन्त्री शर्माले स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिनुभयो ।
समुदायकै सहयोगमा सवल बनाउन सकिने भन्दै उहाँले स्थानीय सञ्चारमाध्यमले समाजका नकारात्मक विषयको चिरफार गर्दै सकारात्मक चेतना दिने समाचारलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
संविधानले आमसञ्चार क्षेत्रको नियमनको पाटोलाई सङ्घीय सरकारको दायित्वभित्र राखे पनि प्रवर्द्धनको सवालमा तीनै तहका सरकारको अधिकार सूचीमा राखेको उल्लेख मन्त्री शर्माले गर्दै प्रदेश र स्थानीय तहहरूले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताउनुभयो । संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने सङ्घीय कानुन नबन्दा केही अन्योल देखिएको उल्लेख गर्दै मन्त्री शर्माले यसलाई चिर्दै जतिसक्दो चाँडो आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार लागेको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आमसञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आमसञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
“मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषद्बाट पारित गरेर सङ्घीय संसद्मा दर्ता गर्ने अन्तिम तयारी छ”, मन्त्री शर्माले भन्नुभयो । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो । सबै क्षेत्रमा महत्त्वपूर्ण सुरुआत भए पनि सरकारले चाहेजस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको मन्त्री शर्माले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया