मञ्जुश्री ट्रेल रेस सुरु



काठमाडौं ।

खेल पर्यटन प्रवर्द्धन गर्दै चौंथो संस्करणको ‘मञ्जुश्री ट्रेल रेस’ सुरु भएको छ ।

शुक्रबार बिहान इचंगुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरु भएको हो । शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपालसहित विभिन्न १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी छन् । जसमा ४० जना विदेशी धावक रहेका छन् । त्यस्तै २ सय ८९ जना महिला र ३५ जना पुरुष धावक छन् । विभिन्न चरण मध्ये सय माइलको दौडमा ४ महिला सहित १८ धावक सहभागी छन् ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएका छन । सय माइलको यस रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मन कुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत अतिथि सहभागी छन् । अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागीता जनाएकी हुन्।

धावकहरूले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन् । त्यस्तै शुक्रबार राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट तथा भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ ।

यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा १ सय जना धावक सहभागी हुँदैछन् । त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिने आयोजकले जनाएका छन् ।

यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत मान्यता रहेको छ । एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्ट मार्फत सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकले भाग लिएका थिए ।आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन एटिएम फाइनलसँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ । स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

प्रतिक्रिया दिनुहोस्