विद्यालयमै सेनेटरी प्याड पाएपछि छात्राहरु खुशी

1.6k
Shares

पनौती  । 

आफु अध्ययनरत विद्यालयको गेटैमा दुई÷दुई रुपैयाको तीनवटा सिक्का छिराउदा साथ सेनेटरी प्याड निस्कने मेसिनको व्यवस्थापन भएपछि पनौती नगरपालिका ५ स्थित हाइल्याण्ड ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा जेनेशा कार्की खुशी छिन । विद्यालयको समयमा पनि महिनावारीको बेला प्याड किन्न बाहिर पसलमा जानुपर्ने विगतको वाध्यता हटेको मात्र हैन प्रयोग भैसकेको प्याड व्यवस्थापनको लागि संगै अर्को डिस्पोजल मेसिन पनि विद्यालयले राखिदिएपछि उनी खुशी भएकी हुन ।

विद्यालय गेटमा सेनेटरी प्याड निस्कने र प्रयोग भएको प्याड व्यवस्थापन गर्ने दुईवटा मेसिन भएपछि कार्की जस्तै यस विद्यालयमा अध्ययनरत छात्रा मनु तामाङ र साहारा खरेल पनि अत्यन्त खुशि छन । विद्यालयमै महिनावारी हुदा हुने समस्या त छदै थियो, घरमा महिनावारी हुदा पनि प्याड प्रयोग गरेर विद्यालय जादा कहिले काही लिकेज भएर समस्या आएको स्मरण गर्दै यी छात्राहरुले अहिले सहजै विद्यालयमै प्याड उपलब्ध भएपछि छात्राहरुले भने– विद्यालयमा छात्राहरुले बारम्बार झेल्नु पर्ने एउटा समस्या हल भएको छ । पहिला विद्यालय समयमा प्याड किन्न बाहिरि पसलमा धाउनु परेको, कहिले काहि बाहिरी पसलमा पनि नभएर धेरै टाढा सम्म धाउनु परेको तथा डिस्पोज गर्ने ठाउ नभएको स्मरण गर्दै यहाका छात्राहरु अहिले खुशी भएको बताउछन ।

महिनावारी प्राकृतिक कुरा हो । महिनावारीलाई वालिकाहरु यौवन अवस्थामा प्रवेश गरेपछि देखा पर्ने मासिक चक्रको रुपमा पनि लिइन्छ । सामुदायीक विद्यालयहरुमा अहिले सरकारले निशुल्क सेनेटरी प्याड उपलब्ध गराउदै आएको छ । नीजि विद्यालयहरुमा भने शुल्क तिरेर पनि सहज रुपमा प्याड उपलब्ध नभएको सन्दर्भमा हाइल्याण्ड ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलले विद्यालयको गेटमै सेनेटरी प्याड निस्कने र प्रयोग भैसकेको प्याड लाई व्यवस्थापन गर्ने दुईवटा मेसिन राखिदिएपछि अन्य विद्यालयहरुलाई पनि छात्राहरुको महिनावारीको बारेमा सहयोग गर्न प्रेरणा मिल्ने सामाजिक अभियान्ता जिएन सापकोटा बताउनु हुन्छ ।

महिनावारीको बेला सरसफाई अत्यन्त महत्वपुर्ण हुन्छ भन्दै प्राथमिक स्वास्थ्य केन्द्र खोपासिका प्रमुख सुवाकर श्रेष्ठ भन्छन– सार्वजनीक मात्र हैन निजी विद्यालयका पनि सबै छात्राहरुलाई सेनेटरी प्याड सहज र सुलभ रुपमा उपलब्ध गराउन सबैले जोड दनुपर्छ । महिनावारीको बेला सरसफाईको लागि प्याड पनि एक हो भन्दै स्वास्थ्य केन्द्र प्रमुख श्रेष्ठ भन्छन– प्याड प्रयोग गर्न सजिलो र प्रभावकारी छ ।

सरकारले निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने सन्दर्भमा सामुदायीक विद्यालयमा कक्षा ६ देखि १२ कक्षा सम्म अध्ययनरत छात्राको संख्या एकिन गर्ने गरेको छ । स्थानीय तहको शिक्षा शाखा मार्फत उपलब्ध हुने सेनेटरी प्याड एक छात्रालाई एक मासिक चक्रको लागि १६ वटा सम्म प्याड उपलब्ध गराउने गरिएको छ ।

२०८० को तथाङ्क अनुसार पनौती नगरभित्र सार्वजनीक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मको छात्राको संख्या १ हजार ५ सय २२ रहेको पनौती नगरपालिका शिक्षा शाखाका महेश्वर जंगमले बताएका छन् । जंगमका अनुसार निजि विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत छात्राको संख्या १ हजार ३ सय ५० रहेको छ । सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ अनुसार सार्वजनिक विद्यालयमा निशुल्क प्याड वितरण भैरहेको छ ।