आर्थिक रूपमा सबल नबन्दा सार्वभौमसत्तालाई सबल बनाउन सकिँदैन: शंकर पोखरेल

224
Shares

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वको लागि बलिया राजनीतिक दल आवश्यक पर्दछ भन्ने चेतना नेपाली समाजमा सम्प्रेषण नगरेसम्म देशको सार्वभौमसत्ता सबल हुन नसक्ने बताउनुभएको छ ।

बुधबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको सार्वभौमिकतास् सीमा र पानी विषयक छलफल कार्यक्रम बोल्दै पोखरेलले अस्थिर राजनीति भित्र एकले अर्कालाई आक्रमण गर्ने परम्पराले नेपाली समाजलाई बिगारेको बताउनुभयो । यसको पछाडि राजनीतिक दल नै जिम्मेवार रहेका उहाँले टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रमा आइसके पछि राजनीतिक स्थायित्वको लागि बलिया राजनीतिक दल आवश्यक पर्दछ’, उहाँले भन्नुभयो ।

बलिया राजनीतिक दलले नै देशको सार्वभौमसत्तालाई बलियो बनाउने उहाँले बताउनुभयो । ‘नेपाललाई आर्थिक रूपमा सबल नबनाएसम्म सार्वभौमसत्तालाई सबल बनाउन सक्दैनौँ’, उहाँले भन्नुभयो । सार्वभौमसत्ता सम्पन्न राष्ट्रका राजनीतिक दलले देशको सार्वभौमतालाई बलियो बनाउने गरी व्यवहार गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । ‘हामी अन्तराष्ट्रिय दृष्टिकोणले पनि सार्वभौम छौँ, संवैधानिक दृष्टिकोणले पनि सार्वभौम छौँ’, उहाँले भन्नुभयो ।

नेपालको जलस्रोतको उपयोगिताको सम्बन्धनमा, कोशी, गण्डक, टनकपुर सम्झौताबाट पाठ सिक्नु पर्ने उहाँले बताउनुभयो । भविष्य सुरक्षा गर्नको लागि इतिहासको समीक्षा गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । नेपाल भारतको सिमानामा नदीले धार परिवर्तन गर्दा पनि धेरै समस्या आएको उहाँले बताउनुभयो । अब परम्परागत सीमाको होइन स्थायी सीमाको बारेमा बहस अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । सीमाको विषय नेपाली राजनीतिक दलको साझा विषय बन्नुपर्ने उहाँले बताउनुभयो । यस्ता विषयमा राजनीतिक स्वार्थ राख्नु नहुने उहाँको धारणा छ ।

सीमाको विषयमा सबै राजनीतिक दललाई एउटै डालोमा राखेर हेर्न नहुने उहाँले बताउनुभयो । सीमाको विषयको कुरा उठाएकै कारण एमालेले पार्टी विभाजनदेखि सरकार छाड्नुपर्ने सम्मको स्थिति भोग्नु परेको पोखरेलले स्मरण गराउनुभयो । ‘नेपालको सार्वभौमसत्ता, जलस्रोत उपयोग र सिमानाको प्रश्नमा नेपालका राजनीतिक दल र नेपाली समाज एक ठाउँमा उभिनु पर्दछ’, पोखरेलले भन्नुभयो ।

भविष्यको लागि नेपाललाई समृद्ध बनाउने आधार जलस्रोत भएको उहाँले बताउनुभयो । यसमा नेपाली जनता पहिलो हकदार हुन् भन्ने कुरा बिर्सन नहुनेमा उहाँले जोड दिनुभयो । ‘व्यापार प्राथमिकता होइन, उपयोग प्राथमिकता हो’, उहाँले भन्नुभयो । हिमालबाट बगेका नदी तराईको भूमि सिँचाइको लागि उपयोग गर्नुपर्छ भन्ने मान्यतालाई केपी शर्मा ओली नेतृत्वको सरकारले स्थापित गरेको पोखरेलले बताउनुभयो ।

ओली नेतृत्वको सरकारका पालामा बबई–भेरी डाइभर्सन र सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको उहाँले स्मरण गराउनुभयो । नेपालको योजनाबद्ध विकास र सार्वभौमसत्ता रक्षामा टङ्कप्रसाद आचार्यको भूमिका उल्लेख्य रहेको पोखरेलले बताउनुभयो । उहाँलाई सम्झँदा नेपालको सार्वभौमसत्तालाई बलियो बनाउने आधार प्राप्त हुने पोखरेलले स्पष्ट पार्नुभयो ।