मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन



उदयपुर कटारी ।

 कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आँगनको सरकार रहेको बताए ।यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँ जोडेको मन्त्री कार्कीको भनाई थियो ।

मन्त्री कार्कीले प्रदेशले भौतिकसँगै मानवीय विकासमा जोड दिएको बताए । ‘कालोपत्रे सडकको विकास भएर मात्रै हुँदैन मानिसहरुको भविष्य उज्वल बनाउने मानवीय विकास गर्न सरकार लागेको छ ।’उनले भने –‘वालवालिकाहरुको पढाई , स्वास्थ्यको जिम्मा प्रदेश सरकारले लिन्छ ।’

पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आयोजित उद्घाटन कार्यक्रममा वोल्दै प्रदेशका भौतिक विकास मन्त्री कमल प्रसाद जवेगुले विकासहरु शहर केन्द्रित भएकाले पहाड केन्द्रित विकासमा लागि परेको बताए ।

 त्यसैगरी उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले यहाँका जनमानसले सहज रुपमा पुल प्रयोग गर्न पाएको बताए ।त्यसैगरी कटारी अस्पताललाई प्रदेश सरकारको पहलमा ५० बेडको अस्पतालको रुपमा विकास हुन लागेको बताए । केही समयमै यस अस्पताललाई ५० बेडको लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको बताए । त्यसैले मन्त्रालयले पनि स्वीकृति प्रदान गरेको बताए ।त्यसैगरी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी , ६ र ७ सँगै पहाडी गाउँपालिका ताप्ली , उदयपुरगढी , लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई समेत सहज भएको बताए ।

 कटारी ७ का वडाध्यक्ष सुविन ढुंगानाले पुल निर्माण भएपछि यहाँका कृषकहरुको कृषि उत्पादन बजार पुराउन सहज हुने बताए । वालवालिकाहरुलाई विद्यालय आउजाउ गर्न , बिरामीलाई अस्पताल पुराउनका साथै आफ्ना उत्पादन बजार पुराउन पुलले सहज भएको बताए।

 प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत १४ करोड ९४ लाख ७३ हजार १ सयको लागतमा पुल निर्माण भएको हो । २ वर्ष भित्रमा निर्माण सक्नेगरी पुलको केएम ईन्जिनियर्स विल्डर्स प्राली काठमाडौंले ठेक्का पाएको थियो । तर दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै निर्माण सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल २ स्पामको बनेको हो ।

प्रतिक्रिया दिनुहोस्