हिमालयन इन्टरप्राइजेजको जग्गामा अनावश्यक विवाद

कानुनी मान्यता पाएको विषयमा विवाद सिर्जना नगर्न आग्रह

196
Shares

काठमाडौं ।

सर्वोच्च अदालतको आदेशअनुरूप जिल्ला मालपोत कार्यालय ललितपुरले पुल्चोकस्थित ३ (घ) को कित्ता नं ४३ को जग्गा हिमालयन इन्टर प्राइजेज ललितपुरको नाउँमा वर्षौंअघि हक कायम गराई कानुनी मान्यता दिएको भए पनि अहिले आएर सो जग्गामा अनावश्यक विवाद खडा गर्न खोजिएपछि इन्टरप्राइजेजका अधिकारीहरूले दुःख व्यक्त गरेका छन्।

इन्टरप्राइजेजका अधिकारीहरूले धर्म, संस्कृति, सम्पदाको संरक्षणमा समेत आफूहरू प्रतिवद्ध रहेको स्पष्ट पार्दै सम्पदा संरक्षणको नाममा कानुनी मान्यता पाइसकेका संरचनामाथि कुनै प्रकारको प्रश्न र विवाद सिर्जना नगर्न आग्रह गरेका छन्।

जिल्ला, पुनरावेदन अदालत पाटन हुँदै सर्वोच्च अदालतमा जग्गाको स्वामित्व दाबी गर्दै चलेको तीन वटा छुट्टाछुट्टै मुद्दामा सर्वोच्चले सो जग्गा हिमालयन इन्टर प्राइजेजकै नाउँमामा हुने ठहर गरेको थियो।

कानुनी रूपमा नै सो जग्गा हिमालयन इन्टरप्राइजेजको नाउँमा किटानी भइसकेको अवस्थामा संस्कृति सम्पदाको संवेदनशीलतालाई जोडेर स्वामित्वमाथि विवाद खडा गर्न खोजिनु मनासिब नहुने आवश्यक तथ्य प्रमाणले समेत उजागर गरेको छ ।

सो जग्गा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित ञवाः गुठीको जग्गा रहेको जिकिर गर्दै केही समूहले इन्टर प्राइजेजले जग्गा हडप्न खोजेको भन्ने आरोप लगाउँदै आइरहेको छ। प्राइजेजका सञ्चालकहरूले सो आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।

सो जग्गामा रहेको विभिन्न स्थानीय गुठीका कूलदेवतालाई पूजा आजा र नियमित पर्व सञ्चालन गर्न आजसम्म हिमालयन इन्टरप्राइजेजले कहिल्यै अवरोध पु¥याएको छैन। यस्तो अवस्थामा अहिलेसम्म कुनै विवाद नभएकोमा हाल आएर केही पक्षले अकस्मात विवाद सिर्जना गर्न खोज्नुले आफूहरूलाई दुखित र आश्चर्यचकित बनाएको सञ्चालकहरूको गुनासो छ।

इन्टरप्राइजेजका डीजीएम राम विष्टले सम्पदा संरक्षणको नाममा अनावश्यक विवाद सिर्जना नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ। विष्टकाअनुसार केही समूहले कुनै आधार र प्रमाणबिना अनावश्यक हल्ला फैलाउने काम गरिरहेका छन्, जुन पूर्ण रूपमा गलत छ।

केही पक्षले अनधिकृत रूपमा जग्गा कब्जा गर्ने, जसरी भए पनि जग्गा हत्याउन अग्रसर रहेको भनि अनर्गल प्रचार गरी यस प्रा. लि. र सञ्चालकहरूको व्यक्तिगत मान, प्रतिष्ठतथा इज्जतमा समेत हिलो छ्याप्ने प्रयास गरिरहेका छन्, यस्ता कार्य रोक्न हामी विनम्र आग्रह गर्न चाहन्छौं। इन्टरप्राइजेजका डीजीएम विष्टले नेपाल समाचारपत्रसँग भन्नुभयो।

हिमालय इन्टरप्राइजेजले सो जग्गा वर्षौँदेखि प्रयोग गर्दै आएकोमा १३ वर्षअघि कानुनी मान्यता प्राप्त गरेको थियो। ललितपुर जिल्ला मालपोत कार्यालयले २०६७ पुस २९ गते सो जग्गा हिमालयन इन्टर प्राइजेजको नाउँमा दर्ता गर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गर्दा २०७० फागुण २५ गतेको फैसलाले त्यसलाई मनासिब ठहर गरेको थियो।त्यस विरुद्ध दायर मुद्दामा सर्वोच्चले अरुको हक पुग्ने प्रमाण, नभएको भन्दै पुनरावदेन अदालतको फैसला मनासिब भएको ठहर्‍याएको थियो।

जग्गाको स्वामित्वका सम्बन्धमा विभिन्न गुठी र व्यक्तिहरूबीच लामो समयसम्म चलेको विवाद सम्बन्धमा अलग अलग तीन वटा मुद्दालाई निरूपण गरी अदालतले प्राप्त तथ्य र प्रमाणको आधारमा सो जग्गालाई हिमालयन इन्टर प्राइजेजको नाउँमा हक कायम गरेको थियो।

इन्टरप्राइजेजमा डीजीएम विष्टले इन्टरप्राइजेज परिवारले मच्छिन्द्रनाथलगायत सम्पूर्ण भगवान एवं अन्य धार्मिक सम्पदाको सरंक्षणमा भूमिका खेलिरहेकाले कम्पनी विरुद्ध विभिन्नखाले भ्रम नफैलाउन समेत सबैलाई विशेष आग्रह गर्नुभएको छ।