उप-निर्वाचन तयारीबारे गृहमन्त्री लामिछानेले लिए जानकारी, निष्पक्ष र शान्तिपूर्ण गराउन निर्देशन

1.1k
Shares

काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा वैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिएका छन्। इलाम रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन् ।

इलाम एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउन निर्देशन दिएका छन् ।

 निर्वाचन निष्पक्ष र शान्तिपूर्ण गराउन गृह मन्त्रालयले तत्काल गर्नु पर्ने काम भए जानकारी गराउनका साथै आवश्यक समन्वय र स्रोतसाधन उपलब्ध हुने बताएका छन् ।

गृहमन्त्री लामिछानेले भने- कानूनले दिएको अधिकार प्रयोग गर्नुस्। के गरौं भनेर सोध्नु भयो भने तपाईंलाई चाहिँ के गर्ने हो सोच्नु पर्छ।  तपाईंहरु राजनीतिक दलको दलदलमा नफस्नुस्। हाम्रोसहित सत्ता सहयात्री दल वा अन्यबाट दबाब र प्रभाव आयो भने मलाई भन्नुस्, त्यो म थेग्छु।  नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो, नागरिकले कुनै पनि कुरामा गुनासो गर्नु नपरोस्, भनेका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उप-निर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराएका थिए । प्रजिअ यादवका अनुसार उप-निर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।