फोहोर निर्मलीकरणको एकीकृत प्रणाली विकासमा काठमाडौं महानगर र मनमोहन मेडिकल कलेजबीच सहकार्य हुने



काठमाडौं ।

स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानिकारक फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्न काठमाडौं महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य हुने भएको छ।

मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकमा कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसमा आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाले सहयोग गरेर एकीकृत केन्द्र स्थापना सहकार्य गर्ने सहमति भएको हो।

बैठकमा उपप्रमुख डङ्गोलले भनिन्, ‘महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिरहेको छ। यी केन्द्रहरूबाट उत्पादन हुने हानिकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौँ। यसलाई नमुना बनाएर स्वास्थ्य संस्थाहरूकै बिचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ।’

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनको अनुगमन गर्ने क्रममा देखिएको अवस्थाका विषयमा कुरा गर्दै उनले भनिन्, ‘अस्पतालहरूबाट उत्पादन हुने सबै फोहोर हानिकारक हुँदैन। स्रोतमा सुरक्षित वर्गीकरण गरेर जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन सबै स्वास्थ्य संस्थाले काम गर्नु पर्ने देखिएको छ। अन्य फोहोरलाई पुनः प्रयोग र पुनःचक्रिय प्रयोगमा ल्याउन सकिन्छ। यसमा एउटा एकीकृत अभ्यास गरौँ । यसको सफल अभ्यासलाई प्रवर्द्धन गरौँ।’

बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रूपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अहिलेसम्म ५० वटा अस्पतालको फोहोर व्यवस्थापन आचरण तथा अभ्यासको अनुगमन सम्पन्न गरिसकेको छ। यसमध्ये मिश्रित फोहोर भएका र निर्मलीकरण अभ्यासमा कमजोरी भेटिएका २० वटा अस्पतालको फोहोर रोकिएको थियो।

यसरी फोहोर रोकिएकामध्ये पनि १८ वटाको पुनः अनुगमन गरिसकिएको छ। अनुगमनका क्रममा टोली मनमोहन अस्पताल पनि पुगेको थियो। अस्पतालले प्रशोधन प्लान्ट स्थापना गर्ने योजनामा सहकार्यको सम्भावना त्यही क्रममा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्