पुरन र मन्सुबको विजयी सुरुआत

70
Shares

काठमाडौं ।

पुरन राईले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ५७ केजी तौलसमूहमा पुरनले जित हासिल गरेका हुन्।

एपीएफका पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरेका थिए । लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले भने गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाएका थिए।

पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपीएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथलाई हराए। पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोशी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाए।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहालको चुनौती पन्छाए। पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठ तथा बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे।

महिला ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाए।

शनिबार सम्पन्न हुने प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए। गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कूल १ सय ५ खेलाडीको सहभागिता रहेको छ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही ५० हजार नगदबाट पुरस्कृत गरिने पनि जनाइएको छ।