बेथान्चोकमा ‘समुदायमा अदालत’

210
Shares

बेथान्चोक, काभ्रे । 

जिल्ला अदालत काभ्रेपलान्चोकले बेथान्चोक गाउँपालिकामा समुदायमा अदालत कार्यक्रम  सञ्चालन गरेको छ । समुदायलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी दिन, अदालत र नागरिकहरु बिचको सम्बन्ध सेतुको काम अर्थात् दोहोरो सञ्चार गर्न, समुदायको अदालतप्रतिको सरोकार र अदालतबाट समुदायले गरेको अपेक्षा, अदालत प्रतिको जनविश्वासमा अभिवृद्धि गर्न र अदालतप्रति रहेको अनावश्यक भ्रम निवारण गर्न समुदायमा अदालत कार्यक्रम सञ्चालन गरिएको श्रेस्तेदार उप सचिव कर्णबहादुर राईले जानकारी दिए ।

जिल्ला न्यायाधीश राजेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, अन्य जनप्रतिनिधिहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा समुदायले अदालत, कानुन र न्यायका बारेमा बुझेका विषय वा समस्याहरुका बारेमा छलफल गरिएको थियो । न्यायपालिकाका चौथो पञ्चवर्षीय रणनीतिक योजना २०७६-२०७७–२०८०-२०८१ अन्तर्गत जिल्ला अदालत काभ्रेपलान्चोकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।  सहभागीहरुले जिल्ला अदालतबाट सम्पादन हुने कार्य लगायत कानुनी समस्याका बारेमा जिज्ञासा राखेका थिए ।

स्थानीय स्तरमा हुने स–साना प्रकृतिका विवादलाई छिटो छरितो रुपमा समयमै विवाद निरुपण गर्नका लागि गाउँपालिकामा रहेको न्यायिक समितिले दिने न्याय र अदालतले दिने न्यायका बारेमा जिज्ञासा राखेका थिए । अदालतले नागरिकहरुका लागि सेवा प्रवाह बडापत्र, एक घण्टे सेवा, टेमप्लेट सुविधा, गुनासो सुनुवाइ, उजूरीपेटिका, न्यायाधीश भेटघाट कार्यक्रम, असहाय पक्षलाई बैतनिक वकीलको सुविधा, दोभाषे सेवा, मेलमिलाप केन्द्र, प्रो बोनो सेवा, कोर्ट फी सुविधा रहेको श्रेस्तेदार राईले जानकारी दिए । कार्यक्रममा श्रेस्तेदार राईले अदालती प्रक्रिया, दस्तुर, न्यायिक प्रक्रिया, मिलापत्र सम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नागरिकहरुले उठाएका जिज्ञासाका बारेमा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सम्बोधन गरेका थिए । कानुनको प्रस्टता, अदालती प्रक्रिया र अदालतले उपलब्ध गराउने सेवालाई अझै प्रभावकारी गराउन प्रयासरत रहने न्यायाधीश नेपालले बताए ।

नागरिकता प्राप्ति, धर्म पुत्रपुत्री राख्ने र उनीहरुले पाउने अधिकार लगायतका विषयमा नागरिकहरुले राखेका जिज्ञासाको सहजिकरण न्यायाधीश नेपालले गरेका थिए । कार्यक्रम जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रशासन प्रमुख अधिकृत हिराकुमारी भण्डारीले सञ्चालन गरेकी थिईन् । उक्त कार्यक्रम विभिन्न स्थानमा बर्षमा तीनवटा सम्म गर्ने योजना बनाइएको भण्डारीले बताइन् ।