सरकारका सचिवहरूसँग प्रधानमन्त्रीको वाचा: ‘म गलत काम गर्दिनँ, तपाईंहरू पनि नगर्नुस्’

112
Shares

काठमाडौं ।

सुशासन मुहानबाट शुरू हुनुपर्छ भन्ने मान्यता छ। यस मान्यताअनुसार प्रधानमन्त्री, मन्त्री र सचिवहरूले चाहेमा सुशासन कायम हुने र भ्रष्टाचार नियन्त्रण हुने सुशासनका विज्ञहरूको तर्क छ।

सुशासन कायम गर्ने मुख्य जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सरकारका सबै सचिवहरूलाई निर्देशन दिँदै सुशासन कायम गर्न नियत सफा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले सुशासन आफूहरूको पहिलो प्राथमिकताको विषय भएकाले जिकिर गर्दै भन्नुभयो– ‘म आफू पनि राष्ट्र र कानुनविपरीतको कुनै पनि काम गर्दिनँ र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने विश्वास लिएको छु।’

सोमबार सचिवको नियमित बैठकको कार्यसूचीका साथै पूर्व सचिवहरूलाई बिदाइ गर्ने कार्यक्रमसमेत रहेको थियो। सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई नियम कानुनलाई अक्षरशः पालना गरेर अघि बढ्न र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो।

सरकारका सचिवहरूलाई सधैं बैठक मात्रै गर्ने तर परिणाम दिन नसक्ने आरोप लाग्दै आइरहेको छ । यस्तै, अधिकांश सचिवहरूमाथि आफ्नो स्वार्थमा दौडने र जनताका कामलाई ध्यान नदिने आरोप लाग्ने गरेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई काम गर्दा कुनै किसिमको स्वार्थमा नपरी विवेक पुर्‍याएर गर्नसमेत निर्देशन दिनुभयो।

‘म पनि सफा नियतले काम गर्छु तपाईंहरू पनि सफा नियतले काम गर्नुस अब परिणाम निकाल्नुको विकल्प छैन ।’ – सचिवहरूलाई प्रधानमन्त्रीले कडा निर्देशन दिँदै भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्र्नुपर्ने आवश्यकता औंल्याउँदै नियत सफा राखेर काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि समस्या पर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘नियत सफा राख्नुस्, नियम कानुनअनुसार काम गर्नुस्, त्यसो गर्दा कुनै समस्या आउँदैन यदि आएमा बचाउने जिम्मेवारी मेरो हो ।’

उहाँले कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नसमेत निर्देशन दिँदै भन्नुभयो– ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुनबमोजिम काम गर्न डराउनु पर्दैन ।’

प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै कर्मचारीतन्त्रले सोहीअनुसार परिणाम दिएर सरकारलाई सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले राजनीति र प्रशासन सरकारका अभिन्न अंग भएकाले आपसी विश्वास र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउनेलगायतका काम गर्दा नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

प्रधानमन्त्री प्रचण्डले तेस्रो त्रैमासिकको अन्त्यसम्म आइपुग्दा समेत पुँजीगत खर्च सन्तोषजनक नभएकोमा असन्तुष्टि जनाउँदै आगामी दिनमा पुँजीगत खर्च वृद्धि गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।