उपनिर्वाचनको चटारोमा दलहरू

सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय अरू दलको बाँकी

70
Shares

काठमाडौं ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई उम्मेदवार छनोटलगायत चुनावी तयारीको चटारोले छोपेको छ।

नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि खाली रहेको इलाम क्षेत्रनम्बर २ र बझाङ क्षेत्रनम्बर १ को प्रदेश सभा (क) मा हुने उपनिर्वाचनका लागि दलहरू तीव्र तयारीमा लागेका हुन्।

दलहरू उम्मेदवार छनोटमा जुटिरहँदा निर्वाचन आयोग नेपालले पनि उपनिर्वाचनको पूर्वतयारीका सबै काम दु्रतगतिमा अघि बढाएको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आयोगले सरकारसँग मागेको १० करोड स्वीकृत पनि भइसकेको छ, हामीलाई ७–८ करोड भए पुग्छजस्तो लाग्छ । कर्मचारी घटाउने नै मुख्य खर्च हो । बजेट स्वीकृति भइसक्यो, अख्तियारी गर्ने काम भइरहेको छ, कार्यालय स्थापना हुनासाथ हामी बजेट पठाइहाल्छौं।’

आयोगले यति बेला मतदाता नामावली अद्यावधिक गर्ने र निर्वाचन सामग्री व्यवस्थापनको काम गरिरहेको उहाँको भनाइ छ । निर्वाचन हुने जिल्लामा कति सामग्री छ, नपुग्ने भए अर्को जिल्लाबाट कति लैजानुपर्छ भनेर निर्वाचन सामग्री व्यवस्थापन भइरहेको उहाँको भनाइ छ।

उता राजनीतिक दलहरूमध्ये एमाले उम्मेदवार छनोटमा पहिलो दल बनेको छ। इलाम–२ को उपनिर्वाचनमा एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै, बझाङ १ (क) प्रदेश निर्वाचन क्षेत्रमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

वर्तमान सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने आशंका भइरहेको अवस्थामा गठबन्धनको मुख्य सहयात्री दल एमालले उम्मेदवारको टुंगो लगाइसके पनि अन्य दलले १४ चैत्रसम्ममा निर्णय गर्ने भनेका छन् ।

नेपाली कांग्रेसमा जिल्ला सभापति डम्बरबहादुर खड्का, महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, संविधानसभा सदस्य नगेन्द्र कुमाल, रमेश लिङ्देन, शान्तिकला तामाङ (राई) र चन्द्रमाया लिम्बू आकांक्षी छन्। उनीहरूको नाम पार्टी केन्द्रमा सिफारिस भएर आएको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो।

‘अब दुई तीन दिनभित्रै उम्मेदवारको टुंगो लगाउने गरी पार्टीका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ’ –उहाँले भन्नुभयो। गत निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग पराजित नेता डम्बर खड्का नै कांग्रेसमा बलियो उम्मेदवारका रूपमा लिइएको नेताहरूले बताएका छन्।

यता, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले उम्मेदवार कसलाई बनाउने वा गठबन्धनअनुसार चुनावी तालमेल गर्ने भन्ने कुनै निर्णय लिएका छैनन्। वाम गठबन्धनलाई बलियो बनाउने गरी एमाले–माओवादीलगायत साथीहरू नलागेकाले आफ्नो दलले केही दिनमै उम्मेदवार टुंगो लगाउने पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बताउनुभयो।

‘वाम गठबन्धनलाई बलियो बनाउने गरी नेताहरूले सोच्नुभएन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आफ्नो स्वार्थका लागि गरिएको एकताले केही हुन्न । त्यहाँका सबै साथीहरूले चुनाव लडभन्दा म जान्थेँ, त्यो परिस्थिति बनेन । एमालेले विनालगानीको नयाँ युवालाई उठाउने निर्णय गरेको छ अब त्यो क्षेत्र गुम्छ । म आफैं चुनावी दौडमा अहिले छैन । तर, हाम्रो दलको उम्मेदवार हुन्छ ।’

नेकपा माओवादी केन्द्रभित्र पनि आफ्नै उम्मेदवार बनाउनुपर्ने बलियो मत रहेको नेता हिमाल शर्माले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारमा भएको गठबन्धनअनुसार चुनावी तालमेल गरेर जाऊँ भन्ने एमालेको प्रस्ताव छ । तर, हामी आफ्नै उम्मेदवार बनाउनुपर्छ भन्ने सोचमा छौं । के गर्ने र को उम्मेदवार हुने भन्ने निर्णय केही दिनभित्रै गर्छाैं ।’

उता, राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १४ गतेसम्मका लागि उम्मेदवार हुन चाहनेहरूबाट आवेदन माग गरेको छ । पार्टी सदस्यहरूबाट प्रारम्भिक मतदान गराएर उम्मेदवार छान्ने नीति लिएको रास्वपाले चैत १७ गते उम्मेदवार सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ ।

इलाममा क्षेत्रनम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि २० राजनीतिक दल आयोगमा दर्ता भएका छन्। उता, बझाङ क्षेत्रनम्बर १ को प्रदेश सभा (क) मा समेत एमालेबाहेक कसैले उम्मेदवार टुंगो लगाउन सकेका छैनन्।

सत्ता सञ्चालनमा गठबन्धन भए पनि उपनिर्वाचनमा एक्लाएक्लै भिड्ने कार्यकर्ताको मनस्थिति देखिएको छ। तर, गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने पक्षमा शीर्ष नेताबीच सहमति हुन सक्ने नेताहरूले बताएका छन्। उपनिर्वाचनका लागि चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो।

मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ। दलहरूले पनि उम्मेदवार छनोट प्रक्रियासँगै प्रचारप्रसारको काम शुरू गरिसकेको बताएका छन्।