समयमै पाठ्यपुस्तक पुर्‍याऊ



काठमाडौं ।

शैक्षिक सत्र २०८१ सालको समयमै पाठ्यपुस्तक पुर्‍याउन मन्त्रालय लागिपरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक बिक्री खुला गर्ने तयारी थालेको छ।

जनक शिक्षा पहिलो चरणमा ९ वटा क्षेत्रीय कार्यालय अन्तर्गत हिमाली क्षेत्रबाट पाठ्यपुस्तक बिक्री गर्ने तयारीमा छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले शैक्षिक सत्रअगावै सबै विद्यालयमा कक्षा १–१० को पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएपछि जनक शिक्षाले हतार–हतारमा काम शुरु गरेको छ।

गतवर्ष समयमै पाठ्यपुस्तक पुर्‍याएर वाहवाही कमाएको जनक शिक्षा आगामी वर्षको लागि समयमै पुस्तक पुर्‍याउन जोडका तोडरुपमा लागिपरेको छ। चौबीसै घण्टा मेसिन सञ्चालन गरी दैनिक १ लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ भइरहेको जनक शिक्षाको भनाइ छ। देशभर कक्षा १ देखि १० सम्म ५० लाख विद्यार्थी अध्ययनरत छन्।

जनक शिक्षाले आगामी वर्षको लागि १ करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्छ। हालसम्म कक्षा ५ को ७ लाख थानमात्र छपाइ हुन बाँकी छ।

कक्षा ३ देखि १० सम्मको तथ्यांक अनुसार कक्षा ३ को ४ लाख २० हजार, ४ को १ लाख ७७ हजार, ५ को ८ लाख, ६ को २८ लाख, ७ को २८ लाख, ८ को २९ लाख, ९ को ३२ लाख र १० कक्षाको ३३ लाख पाठ्यपुस्तक छपाइ भइसकेको छ। अब कक्षा ५ को ७ लाख थानमात्र छपाइ पूरा गर्न बाँकी छ ।

जनक शिक्षाले पहिलो चरणमा ७ प्रादेशिक कार्यालयसहित ९ क्षेत्रबाट पुस्तक बिक्री गर्ने तयारी गरेको छ। शुरुमा हिमाली, त्यसपछि पहाडी र अन्तिममा उपत्यकासहित तराईका जिल्लामा पुस्तक बिक्री गर्ने तयारी छ। जनक शिक्षाका अनुसार पहिलो चरणमा नेपालगन्ज र सुर्खेत बिक्री केन्द्रबाट हिमाली क्षेत्रका पुस्तक बिक्री शुरु हुनेछ।

त्यसपछि सबै केन्द्रबाट एकैसाथ बिक्री हुनेछ। तथ्यांक अनुसार कक्षा १–१० सम्म करिब ५० लाख विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीका लागि झन्डै १ करोड ७४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ। यो तथ्यांक शिक्षा तथा मानवस्रोत विकास केन्द्रको हो।

छपाइ भइसकेको पाठ्यपुस्तक धमाधम क्षेत्रीय र सम्पर्क कार्यालयमा बिक्रीको लागि ढुवानी भइसकेको छ। शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रलाई दिएको थियो। सोही आधारमा कक्षा १ देखि ४ सम्मको निजीले बिक्री गर्नेछ।

जनक शिक्षाले भने कक्षा १ देखि १० सम्मको छपाइ र बिक्री गर्न पाउनेछ। जुन निकायले जसरी पाठ्यपुस्तक छपाइ गरे पनि समयमै विद्यार्थीका हातहातमा पुस्तक पुर्‍याउने दायित्व जनक र निजी क्षेत्रको हो।

जे होस्, आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यार्थीको हातमा पुस्तक पुग्नुपर्छ। वैशाख २ गतेबाट नयाँ पुस्तक लिएर हँसिलो अनुहारसहित कक्षाकोठामा विद्यार्थी पुग्ने वातावरण सरकारले बनाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्