शाखा अधिकृतकै ३ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति

182
Shares

काठमाडौं ।

पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना, माकलवारीमा काम गर्दै आएका शाखा अधिकृत यामकुमार कार्कीले अनियमितता गरी ३ करोड २१ लाख ३२ हजार ९ सय ६५ रुपियाँ आम्दानी गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीको स्रोत नखुलेको उक्त सम्पति बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता घिमिरेका अनुसार अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद तथा गैरकानुनी रूपमा आर्जन गरेको उल्लिखित सम्पत्ति जफत गरी पाउन समेत मागदाबी गरेको छ।

शाखा अधिकृत कार्कीले सरकारी जागिरको २१ वर्षको अवधिमा विभिन्न जिम्मेवारीमा रहँदा पदको दुरुपयोग गरी सो सम्पति जोडेको अख्तियारको दाबी छ। कार्कीले २०५८ साल श्रावण १६ गते निजामती सेवामा प्रवेश गरेको दिनदेखि २०७९ चैत्र ३० गतेसम्मको अवधिमा कमाएका सम्पतिको छानबिनको क्रममा गैर कानुनी आम्दानी गरी करौडौं रुपियाँ कमाएको पाइएको हो।

हाल काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौं अन्तर्गत वागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्धमा कार्यरत कार्कीलार्ई कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित सहरी विकास आयोजनाको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ।

शाखा अधिकृत कार्कीले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनपछि सो अवस्था पाइएको हो।

कार्कीको सो अवधिमा कुल आय ३ करोड ७७ लाख १३ हजार ६ सय ४६ रुपियाँ रहेको छ। आयोगले कार्कीको आयतर्फको आधारमा पारिश्रमिक बचत, भत्तावापतको बचत, जग्गा बिक्रीवापतको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा प्राप्त ब्याज, घर तथा जग्गा वहाल आय र बैंकबाट लिएको ऋणलाई लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

कार्कीले सो अवधिमा ६ करोड ९८ लाख ४६ हजार ६ सय ३ रुपियाँ ३५ पैसा खर्च गर्नुभएको बताइएको छ। आयोगका अनुसार खर्च र लगानीमा घर तथा जग्गा खरिदमा भएको खर्च, सन्तानको अध्ययन खर्च, घर जग्गा रजिस्ट्रेसनवापतको खर्च, बैंक ऋणको साँवा र ब्याज रहेका छन्।

त्यसै गरी बिमा प्रिमियम भुक्तानी, स्कुटर खरिद, गरगहना खरिद, घर जग्गा वहाल कर, सेयर खरिद, सापटी तथा बैनावापत दिएको रकम र बैंक तथा वित्तीय संस्थामा रहेको रकम मौज्दातलाई व्ययतर्फको आधारका रूपमा लिइएको छ।

खर्च तथा लगानीबाट वैधानिक आय घटाउँदा ३ करोड २१ लाख ३२ हजार ९ सय ५६ रुपियाँ ७५ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको प्रवक्ता घिमिरेले बताउनुभयो।

कार्कीको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि भएको पनि आयोगले जनाएको छ।

कार्कीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट छोरी गृष्मा कार्कीको नाममा जग्गा खरिद गरेको देखिएको पनि आयोगको छानबिनले देखाएको छ। सोबाट बढेबढाएको सम्पत्ति एकासगोलकी पत्नी देवका अधिकारीको नाममा समेत राखेको देखिएको प्रवक्ता घिमिरेले बताउनुभयो।

सम्पत्ति जफत गर्नको लागि श्रीमती देवका अधिकारी र छोरी गृष्मा कार्कीलाई प्रतिवादी बनाइएको छ।

भ्रष्टाचार निवारण ऐन, दफा १६(ग), दफा २९ को उपदफा (१) तथा २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, ४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र अधिकारी र कार्कीलाई समेत प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।