बयानपछि विनोद चौधरीले भने- मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनु् पर्दैन

1.1k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई पनि बुझाउनु नपर्ने बताएका छन्।

बाँसबारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएपछि चौधरीले आफूविरुद्ध राजनीतिक स्टन्ट भइरहेको आरोप लगाएका हुन्।

आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको उल्लेख गरे। आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको उनले दाबी गरे।

‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपाल र विश्वभरीका युवा, नेपालका रोजगारदाता, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई ।’ उनले भने ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बोलाएपछि उद्यमीसमेत रहेको नेता चौधरी आज बिहान सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिन पुगेका थिए।

आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको बताउँदै उनले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाई पब्लिक-प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नवीनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको बताए।