सर्लाहीमा बस र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, १० जना घाइते



सर्लाही ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गए राति ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्।

नवलपुरस्थित तीनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्बरको ट्रक र ना ४ ख ३२४ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ११ जनामध्ये ट्रकका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, बस्ने ४२ वर्षीय तोङश्री बहादुर गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

गोलेको उपचारका क्रममा गए राति नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको लालबन्दीका इन्स्पेक्टर हरिबोल केसीले जानकारी दिए। दुर्घटनाका अन्य १० घाइतेको नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा परेका ट्रक र बस इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको इन्स्पेक्टर केसीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्