म्याद गुज्रिएका सामान बेच्नेलाई दुई लाख जरिवाना

5.08k
Shares

रसुवा । म्याद नाघेका सामान बेच्ने पसललाई जिल्ला अनुगमन समिति रसुवाले २ लाख जरिवाना गरेको छ।

जिल्ला अनुगमन समिति रसुवाले गोसाईकुण्ड गाउँपालिका वडा नम्बर-६ धुन्चेको बजार अनुगमन गर्दा म्याद गुज्रिएको, विलविजक र मूल्य सूचि नभएका सामान पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २ लाख सम्मको जरिवाना गरेको हो।

चैत ७ गते बजार अनुगमनका क्रममा  गोसाईकुण्ड-६ का ११ वटा साना ठुला पसलको अनुगमन गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी गङ्गालाल योगीले बताए।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २ लाख जरिवाना लगाई म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको हो। यस बजार क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका उद्योगी व्यवसायी लाई दर्ता गरेर करको दायरामा ल्याउने र गुणस्तरहीन अखाद्य तथा म्याद नाघेका खाद्यान्न तथा दैनिक उपभाेग्य वस्तुको बिक्री वितरण मा निगरानी राख्ने गरी कार्य गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख बृहस्पति तामाङले जानकारी दिए।

अनुगमनका क्रममा भेटिएका अखाद्य सामग्री को मुचुल्का तयार गरी धुन्चे नजिकै को रेडपाण्डा नजिकै को खाल्टो परेको जमिनमा आगो लगाई नष्ट गरिएको हो।

जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय,जिल्ला प्रहरी कार्यालय,उद्योग तथा वाणिज्य कार्यालय,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, नेपाल पत्रकार महासङ्घ,नागरिक समाज रसुवाको टोलीले बजार अनुगमन गरेको हो ।