काठमाडौंमा मध्याह्नपछि पानी पर्ने सम्भावना

1.4k
Shares

काठमाडौं ।

पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना छ। काठमाडौंमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित सामान्य वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षाको सम्भावना छ।