क्षेत्रीय चुनौतीको सामना गर्न सामूहिक प्रयत्नको आवश्यक्ता : परराष्ट्र सचिव लम्साल

84
Shares

काठमाडौं ।

परराष्ट्र सचिव सेवा लम्सालले अहिले विश्वमा चर्किरहेको युद्धका कारण आर्थिक संकट तथा शान्तिसुरक्षामा चुनौतीको सामना गर्नुपरिरहेको बताउँदै यसको सामना गर्न सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभयो।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा परराष्ट्र सचिव लम्सालले यस क्षेत्रको आर्थिक संकट र शान्तिसुरक्षामा देखिएको चुनौतीको सामना गर्न सामूहिक प्रयत्नको आवश्यक्ता औंल्याउनुभएको हो।

कार्यक्रममा उहाँले इन्डोनेसिया र नेपाल दुबै राष्ट्रमा बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकलगायतका विषयहरू समान रहेको जिकिर गर्दै त्यसले लोकतन्त्रलाई थप बलियो बनाउँदै लगिरहेको बताउनुभयो। उहाँले नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि नै सम्बन्ध रहिआएको पनि स्मरण गराउनुभयो।

कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका गैर आवासीय राजदूत हेरु एच. सुबोलोले लोकतन्त्रको क्षेत्रमा नेपाल र इन्डोनेसियाले गरिरहेको कामको प्रशंसा गर्नुभयो।

उहाँले लोकतन्त्रको प्रवर्द्धनका लागि इन्डोनेसियाले ‘समावेशी समाजमा लोकतन्त्रसम्बन्धी संवाद’ कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको पनि जानकारी दिनुभयो।

कार्यक्रममा नेपाली कूटनीतिज्ञ, प्राज्ञिक वर्गका साथै इन्डोनेसियाबाट आएका कूटनीतिज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक र पत्रकारलगायतको टोलीको सहभागिता थियो ।