चैत २४ गतेबाट बन्चरेडाँडामा फोहोर रोकिने

अबको आन्दोलन निर्णायक हुनेछ : सरोकार समितिका अध्यक्ष ढुंगाना

294
Shares

काठमाडौं ।

स्थानीयवासीको माग सम्बोधन गर्ने विषयमा कुनै चासो नदेखाएको आरोप लगाउँदै बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित सरोकार समितिले यही चैत २४ गतेबाट फोहोर फाल्न नदिने भएका छन्।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, र ललितपुर महानगरपालिकामा पत्राचार गरी फोहोर फाल्न नदिने जानकारी गराएको हो।

गत वर्षको भदौ २६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन हुन नसकेको आरोप लगाउँदै समितिले सबै निकायमा सोमबार मागपत्रसहित पत्राचार गरेको थियो। समितिले ११ सूत्रीय माग कार्यान्वयन नभएसम्म बन्चरेडाँडामा फाहोर लैजान नदिने चेतवानी दिएको हो।

समितिका संयोजक श्रीराम ढुंगाना माग पूरा नगरेसम्म फोहोर विसर्जन गर्न रोक लगाउने निर्णय भएको जानकारी दिँदै भन्नुभयो– ‘विगतमा जस्तो माग पूरा गर्ने सहमति गरेर फोहोर खोल्न दिँदैनौ । अबको आन्दोलन निर्णायक हुनेछ । धोकेवाज सरकारले जनताको सबै माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्नेछौ ।’

समितिले मानववस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र घोषणा गर्नुपर्ने, फोहोरमैला प्रदूषणरहित वस्ती विकास क्षेत्र कायम गरिनुपर्ने, फोहोरमैला प्रभावित क्षेत्रलाई संवेदनशील क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने, फोहोरमैला विकास प्राधिकरण गठन गरी फोहोरसम्बन्धी उद्योग स्थापना गर्नुपर्ने, ल्यान्डफिल साइटबाट सशस्त्र प्रहरी बलको पोस्ट हटाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

वर्षौंदेखि अघि सारेको माग पूरा गर्ने विषयमा कसैलाई पनि चासो नभएपछि धेरै मागमध्ये ११ वटालाई तत्काल पूरा गराउन दबाब दिन बाध्य भएर आन्दोलनको घोषणा गरेको संयोजनक ढुंगानाले बताउनुभयो।

समितिले बन्चरेडाँडा ल्यान्डफिल साइटलाई गौरवको आयोजना घोषणा गर्नुपर्ने, प्रभावित क्षेत्रका २ सय जनालाई रोजगारी क्षेत्रमा समावेश गर्नुपर्ने, नेपवेस्ट प्रालिसँग सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन ऐन २०६८ र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति २०७९ खारेज गर्नुपर्ने र ल्यान्डफिल साइटसम्बन्धी प्रस्ताव भएका कामहरू द्रुत प्रक्रियाद्वारा कार्यान्वयन गराउन मन्त्रिपरिषद्ले नयाँ निर्णय गर्नुपर्ने माग अघि बढाएको छ।

समितिले २०७८ कातिक १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएका निर्णय कार्यान्वयन गर्नुपर्ने मुख्य माग राखेको छ। त्यसबेला बन्चरेडाडाको फोहोरमैलाको व्यवस्थित व्यवसथापन र पूर्वाधार निर्माण गर्ने विषय उठान भएको थियो । सोही वर्ष मंसिर १४ गते र फागुन २६ गते भएको निर्णय कार्यान्वयन गर्न पनि माग गरेको छ ।

समितिले आगामी चैत २३ गते बिहान ११ बजे सर्वपक्षीय आन्दोलन र विरोधसभा आयोजना गर्ने निर्णय गरेको छ । सोही बैठकले २४ गते बिहान ६ बजेबाट फोहोर व्यवस्थापनमा अनिश्चितकालीन रोक लगाउने निर्णय गरेको छ । संयोजक ढुंगानाले अबको आन्दोलन निर्णायक हुने दाबी गर्दै भन्नुभयो– ‘सबै निकायमा मागपत्र पेस गरका छौ । चैत २३ गतेसम्म सबै माग पूरा नभए कडा आन्दोलनमा जानेछौं।’

समितिले फोहोरमैला निषेधित क्षेत्र घोषणाको आन्दोलनलाई तोड्न राज्यशक्तिको दुरुपयोग गरी बलपूर्वक फोहोरमैला ढुवानी गरे त्यसबाट उत्पन्न हुने अप्रिय परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिएको छ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा दैनिक १ हजार ४ सय टन फोहोर विर्सजन हुने गरेको छ। त्यसमध्ये कामपाबाट दैनिक ७ सय र ललितपुर महानगरपालिकाबाट दैनिक करिब १ सय ५० टन फोहोर व्यवस्थापन हुने गरेको छ।

त्यसबाहेक अन्य १६ स्थानीय निकायबाट करिब ५ सय ५० टन फोहोर बन्चरे ल्यान्डफिल साइटमा लैजाने गरिएको छ। फोहोर विसर्जनमा रोक लगायने निर्णय भएपछि कामपालगायत सबै स्थानीय निकाय गम्भीर समस्या पर्ने देखिएको छ।