पुनरागमन जितसँगै एपीएफ क्वाटरफाइनलमा

448
Shares

काठमाडौं ।

नेपाल एपीएफ क्लबले आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सुदूरपश्चिम प्रदेशविरुद्ध पुनरागमन जित निकालेको छ।

मंगलबार राखेपको कभर्डहलमा भएको खेलमा तीन भारतीय खेलाडी सम्मिलित सुदुरपश्चिमविरुद्ध एपीएफले उत्कृष्ट प्रदर्शन गरेको थियो। सुरुवातको दुबै सेट गुमाएको एपीएफले त्यसपछिको तीनै सेट जितेर अविस्मरणीय जित हासिल गरेको थियो।

यो सँगैं एपीएफ ५ अंकसहित समूह ‘बी’ विजेता टोली बन्दै क्वाटरफाइनलमा पुगेको छ। पराजित सुदुरपश्चिम पनि ४ अंकसहित उपविजेता टोली बन्दै अन्तिम आठमा पुग्यो। एपीएफले समूह ‘डी’ को उपविजेता तथा सुदुरपश्चिमले समूह ‘डी’ को विजेतासँग खेल्नेछ।

पुरुषतर्फ नै साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्‍यो। हेल्प नेपालले समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ। यो समूहको उपविजेता कोशीले समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ।

महिलातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकाले। आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुलिसले तीन भारतीय र नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही सम्मिलित एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ।

हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा एभरेष्ट भलिबलसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि पुलिसलाई जित्नै पर्ने हुन्छ । पुलिसलाई भने आर्मीविरुद्ध एक अंक जोडे अन्तिम चारको स्थान सुरक्षित हुनेछ । पुलिसको ५ अंक र आर्मीको ३ अंक छ ।