संघीय संसद्का दुवै सदनको बैठक बस्दै

112
Shares

काठमाडौं ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्नेछ।

राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि सभामा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङ्कन विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन प्रति छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्’ भने सो ‘प्रस्तावलाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख छ।

साथै, अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

प्रतिनिधिसभाको सचिवालयले भने आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन।