एनआईएमबीलाई उपाधि



काठमाडौं । 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित गर्‍यो।

एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे। उपाधिसँगै एनआईएमबीले ५० हजार नगद पुरस्कार पायो । आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो।

आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो। दोश्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसंग पराजित भएको थियो। पहिलो संस्करणको उपाधि एभरेष्ट बैंक लिमिटेडले जितेको थियो।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेश्रो भयो। नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो। रञ्जन बराल र सुदीप सुवेदीले समान १–१ गोल गरे। नेपाल बैंकले २० हजार नगद पुरस्कार प्राप्त गरेको थियो।

प्रतियोगिताभर ९ गोल गरेका एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए । राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिम घोषित भयो।

प्रतिक्रिया दिनुहोस्