बहराइन जान लागेका पदाधिकारीलाई राखेपले रोक्यो



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले फिफा विश्वकप छनोटअन्तर्गत खेलका लागि बहराइन जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूलाई रोकेको छ।

राखेपले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्नेबाहेक अन्य अनावश्यक पदाधिकारीहरूलाई बहराइन जानबाट रोक लगाएको हो।

विश्वकप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ ४१ जनाको नाम स्वीकृत गराउन बिहीबार राखेपमा सिफारिस गरेको थियो । तर, डा.राजु डंगोलबाहेक अन्यलाई स्वीकृती नदिएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए।

चैत ८ र १३ गते हुने खेलका लागि बहराइन जानेको सुचीमा २३ खेलाडी, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, प्राविधिक प्रशिक्षक, फिजियो, डाक्टर, व्यवस्थापक गरी ३१ जनाको नाम राखेपमा सिफारिस गरिएको थियो।

सिफारिस गरिएकोमा अस्विकृत भएकाहरूमा एन्फा केन्द्रीय सदस्य टिकाराम लामा हेड अफ डेलिगेट्स तथा मणिराज विष्ट, रामचन्द्र तामाङ लामा, रन्जन कार्की, राजकाजी श्रेष्ठ, महेशचन्द्र महत, भरतबहादुर खत्री, शेरबहादुर बस्नेत, डोलुशकुमार केसी पदाधिकारी र मिडिया पदाधिकारी गोविन्दराज नेपाल थिए। डा.डंगोलबाहेक अरुको हकमा स्वीकृति दिनका लागि एन्फाबाट तर्कसंगत जवाफ नआएको सदस्य सचिव घिसिङले बताए।

युवा तथा खेलकुद मन्त्रालयले गत हप्ता विज्ञप्ती जारी गर्दै ऐन अनुसार राखेपको स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थानमा अनुमति दिनका लागि गृह मन्त्रालयमा अनुरोध गरेपछि राखेपले कडाई गरेको हो।

प्रतिक्रिया दिनुहोस्