आर्यनको पुजार सार्की रुप भाइरल



काठमाडौं ।

छायांकनमा रहेको सामाजिक फिल्म पुजार सार्कीमा अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सार्वजनिक भएको छ।

फिल्मका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासी भिडियो नै भाइरल भएको बताए। निर्देशक राउतले आफूले सोचेअनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले सिग्देलको लुक्सबारे चर्चा गरेको देख्दा खुसी लागेको बताए।

‘जसरी पनि प्रचार सामग्रीमा हामीले देखाउनैपर्ने थियो। योजनामा राखिएको समयअगावै भिडियो सोसल मिडियामा आएछ। आर्यनका कोही प्mयानले सेटमै खिचेर अपलोड गर्नुभएछ,’ राउतले भने।

२४ सेकेन्ड लामो भिडियोको युट्युब लिंक सेयर गर्दै अभिनेता प्रदीप खड्काले ‘पुजार लिक भयो। मैतैलाई पत्ता लगाउनूस्,’ भनेका छन्। भिडियोमा ढाका टोपी लगाएर पञ्चेबाजामा छमछम नाचिरहेका आर्यनले टुप्पी पालेको देखिन्छ।

पुजार सार्कीको कास्की जिल्लाको पोखरानजिकै कास्कीकोटमा छायांकन चलिरहेको फिल्ममा अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेका छन्। फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बू पनि प्रमुख भूमिकामा छन्।

निर्देशक राउतले यो फिल्मलाई जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा संघर्षको कथा भएको बताएका छन्।

फिल्ममा विकास सुवेदीको लेखन, सुवास भुसालले निर्माण र संगीत, हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, प्रकाश सपुत, शान्ति श्री परियार र केतन क्षेत्रीको स्वर, हिमाल केसीको द्वन्द्व निर्देशन, दिनेश लामा (गैँडा) को कला निर्देशन, राजेश श्रेष्ठको डिओपी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्