गृहमन्त्रीको बचाउमा उत्रियो एमाले

1.6k
Shares

काठमाडौं ।

नयाँ सत्ता समीकरणको प्रमुख सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएको छ।

सत्ताबाहिर हुँदा कुनै प्रकरणमा आरोप लागेका सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको एमालेले सत्तामा भित्रिनेबित्तिकै बोली फेरेको हो ।

नेपाल टेलिकमको टेरामक्स खरिदका सन्दर्भमा विवादमा आएका अघिल्लो सरकारका स्वास्थ्य मन्त्री मोहन बस्नेत र बालकुमारी घटनामा विवादमा परेका भौतिक मन्त्री प्रकाश ज्वालाको राजनीनामा माग गर्दै सदन अवरुद्ध गर्ने एमाले नेताहरू सरकारमा पुगेसँगै सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाउन अग्रसर भएको थियो।

एकै प्रकृतिका आरोपित व्यक्तिहरूमा पनि कोही ठिक कोही बेठिक भन्ने ढंगले एमाले सदनमा प्रस्तुत हुन थालेको नेपाली कांग्रेसका नेताहरूले टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो–‘अघिल्लो सरकारको पालामा कुनै घटनामा संलग्न देखिएको आरोपमा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरू मन्त्रीको जिम्मेवारीबाट नहटेसम्म सदन अवरोध गर्ने उद्घोषसहित प्रस्तुत भएको एमाले अहिले सरकारमा पुगेपछि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएर ठगी प्रकरणलाई छिपाउने प्रयत्नमा लागेको छ । त्यसलाई प्रधानमन्त्रीजीले स्वीकार्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डकै मन्त्री मण्डलमा रहेका निवर्तमान मन्त्रीको भन्दा गम्भीर प्रकृतिको काण्डमा मुछिएका व्यक्तिलाई स्वार्थ बाझिनेगरी गृहको जिम्मेवारी दिएर सहकारी ठगी प्रकरण गुमनाम पार्न खोजिएको प्रमखु प्रतिपक्षी दल कांग्रेसको आरोप छ।

एउटै प्रकृतिका प्रकरण आफू सरकारमा सहभागी नहुँदा बेठिक र सरकारमा जानेबित्तिकै ठिक थियो भन्ने कोणबाट प्रस्तुत हुनु संसदीय मर्यादा, लोकतन्त्र र जनभावनाविरुद्ध भएको नेता लेखकले टिप्पणी गर्नुभयो ।

कांग्रेसले उठाउँदै आएको उक्त विषयमा एमालेले भने गठबन्धन परिवर्तनपछि सत्ता बाहिर पुगेको कांग्रेसको छटपटाहट भएको बताएको छ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाउँदै आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग भन्नुभयो– ‘कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको छ।’

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषीलाई उम्किन दिनु हुँदैन । तर, आरोप लाग्दैमा कोही दोषी हुँदैन ।’