सुन तस्करी प्रकरण : जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

336
Shares

काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई आइतबार यस्तो निर्देशन दिएका हुन्।

मन्त्रालयमा भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो।

जाँचबुझ आयोगले चिनियाँ सुन तस्करसँगको कनेक्सनमा रहेका महराले नेपालमा अवैध रूपमा सुन ल्याउन भूमिका खेलेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि सुरक्षा निकायले महरालाई पक्राउ गर्ने विषयमा छलफल गरिरहेको छ। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका दुवै छोरा सुन तस्करीमा संलग्न रहेको पनि जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

यस्तै गृहमन्त्री रवि लामिछानेले बाँसबारीको छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा सांसद चौधरीको बयान लिन प्रहरीलाई निर्देशन दिएका छन्।