अर्थमन्त्री पुन भन्छन्- हामी सङ्कटमा छैनौँ, निराशा बाँड्ने काम बन्द गरौँ

140
Shares

काठमाडौं ।

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन्।  नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र सङ्कटबाहिर रहेको बताए।

एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैङ्कहरूमा लगानी योग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको सङ्केत दिने उनको भनाइ थियो।

‘गत वर्ष ७ महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिति हुँदा श्रीलङ्का हुन्छ भनिएको थियो। सरकार सञ्चालन गरिहरेको राजनीतिक नेतृत्वले त्यति बेला हामी श्रीलङ्काको बाटोमा छैनौँ भनेर आश्वस्त पारेको थियो’, पुनले भने, ‘बैङ्किङ तरलता बढेर बैङ्कहरू लगानीको क्षेत्र खोजिरहेका छन्।’

यद्यपि अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे। विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै पुनले नेतृत्वले सङ्कटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरे। पूर्ववर्ती अर्थमन्त्रीहरुबारे नकारात्मक टिप्पणी नगर्ने बताएका मन्त्री पुनले उनीहरूले अघि सारेका राम्रा र सकारात्मक नीतिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

फरक प्रसङ्गमा उनले पछिल्लो समय धितो पत्र बजारमा सकारात्मक सङ्केत देखिएको बताए। मन्त्री पुनले ६० लाख जनसङ्ख्या संलग्न धितो पत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेको जनाए।

विगतमा अर्थतन्त्र सङ्कटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको जानकारी मन्त्री पुनले दिए। नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भए पनि नकारात्मक पक्षका बारेमा मात्र बढी चर्चा हुने गरेको टिप्पणी उनले गरे।

नेपाल मानव विकास सूचकाकंमा विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि भएको विश्वव्यापी रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भन्ने हल्ला गरिनु दुःख रहेको बताए।

‘राम्रोलाई राम्रो भनेर बाँकी सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो’, पुनले भने। यद्यपि राजनीति, राजनीतिज्ञ, कर्मचारी तन्त्र, न्यायालय तथा सामाजिक जीवनका अरू क्षेत्रहरूले आफूबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने मन्त्री पुनले बताए।