हिमालयन इन्टरप्राइजेजले भन्यो- जग्गा हडपेको छैन, प्रमाण तथा कागजात देखाउन तयार छौं

770
Shares

काठमाडौैं ।

हिमालयन इन्टरप्राइजेज प्राइभेट लिमिटेडले ललितपुरको पुल्चोकस्थित ३ (घ) को कित्ता नं ४३ को जग्गा हडपेको भनी फैलाइएको समाचार भ्रमपूर्ण भएको दाबी गर्दै उक्त जग्गा कानुनी रूपमै हिमालयन इन्टरप्राइजेजकै स्वामित्वमा रहेको बताएको छ।

हिमालयन इन्टरप्राइजेजले शनिबार प्रेस विज्ञप्ति जारी गरी तीन दशक लामो कानुनी लडाइँबाट आफ्नो स्वामित्व प्राप्त गरेको जग्गामा हाल केही समूहले कुनै आधार र प्रमाणबिना अनधिकृत रूपमा जग्गा कब्जा गर्ने, विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी हिमालयन इन्टरप्राइजेज र यसका सञ्चालकहरूको व्यक्तिगत मान, प्रतिष्ठा तथा इज्जतमा समेत हिलो छ्याप्ने प्रयास गरिरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट केही पक्षले सो जग्गा बलपूर्वक हडपेको भनी भ्रमपूर्ण र सुनियोजित तवरबाट समाचार प्रवाह गरेको देखिएको छ। सो कार्यप्रति हिमालयन इन्टरप्राइजेज प्रालिको घोर आपत्ति रहेको छ। सो सम्बन्धमा तपसिलमा उल्लेखित प्रमाण तथा कागजातहरू यस प्रालिसँग रहेको र कुनै पनि निकाय, व्यक्ति वा संस्थाको तर्फबाट माग भएका बखत उपलब्ध गराउन तत्पर रहेको व्यहोरा जानकारी गराउँदछौं ।’

हिमालयन इन्टरप्राइजेजले कम्पनीले कानुनसम्मत प्राप्त गरेको जग्गालाई आफ्नो सम्पत्ति उपभोग गर्न पाउने अधिकार स्थापित गराउन सहयोग गरिदिन सबै पक्षलाई अनुरोध गर्दै सञ्चार जगतलाई पनि सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ।’

उक्त जग्गा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित ञवाः गुठीको जग्गा रहेको र हिमालयन इन्टरप्राइजेजले सो जग्गा हडप्न खोजेको भन्ने केही समूहले लगाएको आरोप खण्डन गर्दै हिमालयन इन्टरप्राइजेजले प्रेस विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिअनुसार हिमालयन इन्टरप्राइजेजले सो जग्गा कानुनसम्मत रूपमा प्राप्त गर्न २०३८ साल पुस १६ गते जिल्ला मालपोत कार्यालय ललितपुरमा निवेदन दिएको थियो।

त्यसपछि कि.नं. ४३ छुट जग्गा दर्ता सम्बन्धमा ललितपुर जिल्ला अदालतको २०४८ आश्विन २० गतेको फैसलाअनुसार कम्पनीको नाममा जग्गा दर्ता हुने ठहर गरेको थियो । त्यसलाई पुनरावेदन अदालत पाटनले २०५२ कार्तिक २८ गते जिल्ला अदालतको फैसलालाई बदर गरे पनि पछि २०५७ जेठ ३२ गते सर्वोच्च अदालतले मालपोत कार्यालयबाट कानुनबमोजिम गर्नु भनी फैसला गरेको थियो।

२०६२ कार्तिक १ मा सर्वोच्च अदालतवाट २०३८ पुस १६ मा दिएको निवेदनबमोजिम गर्नु भनी मालपोत कार्यालय ललितपुरका नाममा परमादेश जारी गरेको थियो । २०६६ श्रावण १२ गते को ललितपुर उप.म.न.पा. वडा नं. ३ को कार्यालयको सर्जमिनमा सम्पूर्ण गुठी (मिखावहाल गुठी, छायवहाल ञवा खल) लगायतका गुठीले उक्त जग्गालाई कम्पनीको जग्गा भनी सर्जमिन गरेको पनि विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिअनुसार २०६६ भाद्र ३ गते मालपोत कार्यालयले सो जग्गा सम्बन्धमा हक दाबीसम्वन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो भने २०६६ असोज ६ गते यमजित प्रताप ज.व.रा. लगायतले ३५ दिने सूचनाको आधारमा हक दाबी पेस गरेको र सो सम्बन्धमा २०६७ पुस २९ गते निजहरूको हकदाबी नपुग्ने निर्णय गरी मालपोत कार्यालयले हिमालयन इन्टरप्राइजेजको नाममा जग्गाधनी प्रमाण पुर्जासमेत जारी गरेको थियो।

त्यसपछि राणालगायतले जग्गा हक दाबीसहित पुनः पुनरावेदन अदालत तथा सर्वोच्च अदालतवाट मुद्दा दर्ता गराएकोमा त्यसपछि क्रमशः २०७० फागुण २५ र २०७९ फागुण २३ मा समेत उक्त जग्गा कम्पनीको कायम हुने अन्तिम फैसला भएको कम्पनीले जनाएको छ।