सुन तस्करी प्रकरण : महरालाई कानुनी दायरामा ल्याउने तयारी

770
Shares

काठमाडौं ।

सुन तस्करी प्रकरणमा संलग्न रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायले गम्भीर छलफल गरेको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले चिनियाँ सुन तस्करसँगको कनेक्सनमा रहेका महराले नेपालमा अवैध रूपमा सुन ल्याउन भूमिका खेलेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि सुरक्षा निकायले महरालाई पक्राउ गर्ने विषयमा छलफल गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले दिएको सुझावका आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीलाई निर्देशन दिएपछि प्रहरीले कारबाही अघि बढाउने तयारी गरेको हो ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ गरी कारबाही गर्न सिफारिस भएकामध्ये दिपेश पुन र जीवन गुरुङ पक्राउ परिसकेका छन् । प्रहरी उच्च अधिकारीका अनुसार पूर्व सभामुखसमेत रहेका महरालाई पक्राउ गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँगसमेत राय लिने काम भएकाले प्रहरी निष्कर्षमा पुग्ने छ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका दुवै छोरा सुन तस्करीमा संलग्न रहेको पनि जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएपछि प्रहरी अहिले आयोगको प्रतिवेदन अध्ययन गर्ने र प्रतिवेदनमा उल्लेख भएकाहरूलाई कारबाहीको दायरामा ल्याउन लागि परेको ती सुरक्षा अधिकारीले जानकारी दिए।

इलेक्ट्रिक सिग्रेट (भेप) र ब्रेक सुमा लुकाएर ल्याएको सुन छोडाउन माओवादी नेताका आफन्तहरूको संलग्नता रहेको देखिएपछि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन नै अवरुद्ध गरेर जाँचबुझ आयोग गठन गर्न सरकारलाई बाध्य पारेको थियो। सरकारले पूर्व न्यायाधीश डिल्लीराज आर्चायको अध्यक्षमा जाँचबुझ आयोग गठन गरेको थियो।

सुन तस्करी प्रकरणमा माओवादी निकट नेता, कर्मचारी र व्यापारीहरूको संलग्नता रहेको पनि आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख हुनुले लामो समयदेखि माओवादी नेताका छोरा तथा आफन्तहरू तस्करीमा संलग्न रहेको पुष्टि भएको छ।

चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङलाई नेपालमा तस्करी गर्न सहयोग गर्नेमा माओवादी नेताका छोराहरूको संलग्नता रहेको पुष्टि यसअघि नै भएको थियो।

उपसचिव पौडेललाई पुरस्कृत गर्न सिफारिस

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले राजस्व अनुसन्धान विभागका उपसचिव सन्तोष पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। उपसचिव पौडेलले ६१ किलो सुन तस्करी प्रकरणमा प्रभावकारी र परिणाम आउने गरी अनुसन्धान गरेको भन्दै आयोगले पुरस्कृत गर्न सरकारलाई सिफारिस गरेको हो।

गत साउन ३ गतेदेखि १९ गतेसम्म पौडेलको नेतृत्वमा भएको अनुसन्धानमा २१ जना पक्राउ, ११ ठाउँमा खानतलासी गर्नुका साथै उक्त काण्डमा संलग्न रहेकाहरूको खोजीमा महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोगले पुरस्कृत गर्न सिफारिस गरेको हो।