वृहस्पति र बालमन्दिरका पदाधिकारीमाथि भ्रष्टाचार मुद्दा लाग्न सक्ने

वृहस्पतिको छानबिन गर्दा विशाल ग्रुप पनि तानिने

154
Shares

 काठमाडौं ।

नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा दिने र लिने दुवै पक्षमाथि भ्रष्टाचारमा मुद्दा चल्न सक्ने देखिएको छ।

बालमिन्दरकी तत्कालीन अध्यक्ष रिता सिंह र वृहस्पति विद्या सदनका तत्कालीन पदाधिकारीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्ज्वलराज जोशी, मिनुकुमारी जोशी तथा वृहस्पति विद्या सदनको बढी स्वामित्व लिने विशाल ग्रुपका अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई लगायतमाथि समेत भ्रष्टाचार मुद्दा दायर हुन सक्ने स्रोतको दाबी छ।

यस्तो भएमा वृहस्पति विद्या सदनको शैक्षिक व्यवस्थापनमा समेत गम्भीर समस्या सिर्जना हुन सक्ने र हाल त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीको समेत बिचल्ली हुन सक्ने बताइन्छ।

अख्तियारले हाल गैरकानुनी रूपमा ५२ वर्षसम्म बालमन्दिरको जग्गा लिजमा दिने बालमन्दिरका तत्कालीन पदाधिकारीसँग बयान लिइरहेको छ। तत्कालीन अध्यक्ष रिता सिंहले भने मिर्गाैलाको डायलासिस गर्नुपर्ने बहाना बनाउँदै अख्तियारको बयानलाई छल्दै आइरहनुभएको अख्तियार स्रोतले जानकारी दिएको छ।

बालमन्दिरका पदाधिकारीसँगै बालमन्दिरको जग्गा ५२ वर्षसम्म हत्याउने योजना बनाएर सफल भएका वृहस्पति विद्या सदनका पदाधिकारी तथा त्यससँग प्रत्यक्ष जोडिएका विशाल ग्रुपका पदाधिकारीसँग समेत अख्तियारले बयान लिने तयारी गरेको स्रोतले जानकारी दियो ।

अख्तियारका अनुसार कुनै पनि सरकारी जग्गा ३० वर्षभन्दा बढी लिजमा दिन कानुनी रूपमा मिल्दैन । तर, वृहस्पति सदनले कानुनको धज्जी उडाउँदै बालमन्दिरका तत्कालीन पदाधिकारीलाई समेत आर्थिक प्रभावमा पारी बालमन्दिरको २८ रोपनी ५ आना जग्गा पूरक सम्झौताको नाममा ५२ वर्षसम्म लिजमा लिएको छ।

‘वृहस्पति विद्या सदन र बालमन्दिरका तत्कालीन पदाधिकारीको मिलेमतोमा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा दिइएको पाइएको छ, मिलेमतोमा ठूलो अनियमितता भएको प्रष्ट देखिन्छ। ‘अख्तियारका एक अनुसन्धान अधिकृतले नेपाल समाचारपत्रसँग भने ।

अख्तियारले बालमन्दिरको जग्गा हत्याउन प्रपञ्च गर्ने वृहस्पति विद्या सदन र वृहस्पति सदनमा पूर्ण प्रभाव र स्वामित्व जमाउने विशाल ग्रुपका पदाधिकारीका बारेमा समेत गहन अनुसन्धान थालेको बताइएको छ ।

२०६९ वैशाख ३ गतेसम्म वृहस्पतिमा पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्जवलराज जोशी र मिनुकुमारी जोशीसमेत ५ जनाको लगानी थियो। त्यसपछि भने क्रमशः विशाल ग्रुपका अग्रवाल परिवारको लगानी भएको देखिन्छ।

अहिले बहुमतभन्दा बढी सेयर अग्रवाल परिवारकै रहेको पाइएको छ। जसअनुसार २०७४ जेठ ७ गतेदेखि वृहस्पतिमा लगानीकर्ताका रूपमा अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई र ‘ग्रिनफिल्ड इंक प्रालि प्रवेश भएको देखिन्छ।

अनुज र अर्पित विशाल ग्रुपका निर्देशक हुन् भने ग्रिनफिल्ड नामक कम्पनीका अधिकांश सदस्य विशाल ग्रुपकै सदस्यहरू रहेको पाइन्छ। यसै गरी २०७८ सम्म आउँदा महेशकुमार सिंघानियाँ, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, श्यामसुन्दर कँडेल, सन्दिपा थापा, वसुन्धरा श्रेष्ठ, समीर थापा, सुनिल जाकेबञ्जा पनि लगानीकर्ताका रूपमा देखिएका छन्।

अख्तियारले बालमन्दिरको जग्गा हत्याउन गैरकानुनी कार्य गर्ने वृहस्पति विद्या सदनसँग सम्बन्धित सबै पक्षका बारेमा गहन अनुसन्धान थालिएको समेत जनाएको छ।

‘बालमन्दिर जग्गा गैरकानुनी रूपमा लिजमा लिने वृहस्पति विद्या सदन र यससँग सम्बन्धित सबै पक्षमाथि हामी गहिरो अनुसन्धान गरिरहेका छौं, बालमन्दिरका तत्कालीन पदाधिकारीसहित उनीहरूसँग मिलेमतो गर्ने वृहस्पति विद्या सदनका कतिपय व्यक्तिहरूसमेत भ्रष्टाचार मुद्दामा तानिनसक्ने पाइएको छ।’ – अख्तियार स्रोतको भनाइ छ ।

अख्तियारका अनुसार बालमन्दिरकी तत्कालीन अध्यक्ष सिंह र वृहस्पति सदनले विभिन्न प्रपञ्च रचेर शुरूमा ९ रोपनी मात्रै उपभोग गरिएको जग्गा २८ रोपनी ५ आना पुर्‍याएका थिए।

पछिल्लो समय विशाल ग्रुपकै योजनामा राजनीतिकदेखि प्रशासनिक सेटिङ मिलाएर वृहस्पति विद्या सदनलाई बालसंगठनको ९ रोपनी जग्गाबाट २८ रोपनी ५ आना जग्गा भाडामा लिन सफल भएको थियो।

एउटा सम्झौता नसकिँदै अर्को सम्झौता गर्ने र ५२ वर्षका लागि बिनाप्रतिस्पर्धा एकैपटक सम्झौता गर्ने कार्य ठूला सेटिङका कारण भएको देखिन्छ।बालसंगठनका अनुसार अहिले वृहस्पति विद्या सदनमाथि विशाल ग्रुपले पूर्ण रूपमा हालीमुहाली जमाएको छ। विभिन्न कागजातको अध्ययन गर्दा वृहस्पति विद्या सदनको सेयरमा समेत विशालग्रुपकै वर्चस्व रहेको देखिएको छ। जसअनुसार वृहस्पतिमा रहेका १४ जना सेयर सदस्यमध्ये अधिकांश विशाल ग्रुपकै सदस्यहरू रहेको पाइएको छ।

वृहस्पति विद्या सदनको सेयर लागत विश्लेषण गर्दा ५८ प्रतिशत सेयर विशाल गु्रपकै हातमा रहेको देखिन्छ । यसमा श्रद्धा संघईको नाममा रहेको १५ प्रतिशत सेयरसमेत जोड्ने हो भने विशाल ग्रुपको कब्जामा ७३ प्रतिशत सेयर रहेको पाइन्छ। अख्तियारले यस सम्बन्धमा पछि छानबिन गरिहेको अख्तियार स्रोतले जानकारी दिएको छ।

शिक्षा मन्त्रीको मौनता !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा दिइएको विषयका बारेमा पछिल्ला दिनमा मौनता साँध्नुभएको छ ।

श्रेष्ठ मन्त्री हुनुअघि प्रतिनिधिसभामा बोल्ने क्रममा बारम्बार बालमन्दिरको जग्गा दुरुपयोग गर्नेमाथि कारबाहीको माग गर्नुभएको थियो। तर, हाल कारबाही गर्ने निकायमध्येको एक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आउनुभएपछि भने उहाँले बालमन्दिरको जग्गा दुरुपयोग गर्नेमाथिको कारबाहीको विषय उठाउन छोड्नुभएको हो।

तर, बालमन्दिरका हालका पदाधिकारीले भने आफूहरू शिक्षा मन्त्री श्रेष्ठबाट बालमन्दिरको जग्गा दुरुपयोग गर्नेमाथि आवश्यक कारबाही हुने विश्वासमा रहेको बताएका छन्।