प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक प्रस्तुत गरिने

126
Shares

काठमाडौं ।

प्रतिनिधिसभा बैठक बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

साथै, आ.ब. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।