सुन तस्करीका दोषीलाई कारबाही गर्छौं : गृहमन्त्री लामिछाने

238
Shares

काठमाडौं ।

सुनको अवैध पैठारी (नियन्त्रण) सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेका व्यक्तिमाथि मुद्दा चलाउन र सुन तस्करी सम्बन्धमा रहेका कर्मचारीलाई विभागीय कारबाही गर्न सुझावसहितको प्रतिवेदन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गरेको छ।

बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। अध्यक्ष आचार्यले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार गृह मन्त्रीलाई बुझाइएको ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन ९ वटा भन्सार कार्यालयको स्थलगत अनुगमन, सुन तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेका र बयान लिएका ६८ जनासँग बयान र ६१ जना विज्ञसँग राय लिएर तयार पारिएको हो ।

आयोगको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि बताउनुभयो ।

आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्दै मन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो – ‘जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने र विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहत ल्याउने छु।’ मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनको चुनौती आफैंले सामना गर्ने पनि बताउनुभएको छ।