शिक्षामन्त्री श्रेष्ठ एनओसी शाखामा, सर्भरको समस्या तत्काल समाधान हुने

686
Shares

काठमाडौं ।

दैनिक सयौंको भीड लाग्ने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखामा देखिएको समस्या बिहीबार दिउँसोबाट केही मात्रामा समाधान भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दाबी गरेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एनओसी शाखामा देखिएको समस्या तत्काल समाधान हुने दाबी गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मन्त्रीज्युले अनुगमन गरेपछि केही कर्मचारी पठाएका छौं। ४ जना थप जनशक्ति खटाएका छौं । शाखा प्रमुख शान्तिराम पौडेलको राजीनामापछि वासुदेव वस्तीलाई जिम्मेवारी दिइएको छ । हिजैबाट केही समस्या समाधान भएको छ ।’

तथ्याङ्कअनुसार दैनिक ३ सय बढीले एनओसी लिने गरेको उक्त शाखामा एनओसी लिएर विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्न थालेसँगै एनओसीको सर्भरमा समस्या देखिएको हो। सर्भर समस्याका कारण कुनै पनि फाइल डाउनलोड हुन नसकेपछि एनओसी लिने प्रक्रिया रोकिएको छ।

मन्त्रालयले एनओसीसँग सम्बन्धित राष्ट्रिय परीक्षा बोर्डलगायत सबै निकायको अनलाइन प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

एनओसी शाखा प्रमुखले राजीनामा दिएपछि अस्तव्यस्त बनेको एओसी शाखाको अवस्थाबारे जानकारी लिन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ बिहीबार बिहानै भक्तपुरस्थित एनओसी शाखा पुग्नुभएको थियो।

भर्खरै राजीनामा दिनुभएका शाखा प्रमुख पौडेलले सेवा प्रवाहमा समस्या देखिएको र विभिन्न स्वार्थ समूहको जञ्जाल घेरिएको कारण आफूले पदबाट राजीनामा दिएको बताउनुभएको थियो ।

एनओसी शाखामा सेवाग्राही विद्यार्थीहरूले मन्त्री श्रेष्ठसमक्ष बस्ने स्थानको अभावदेखि सेवा प्रवाहमा भएको झन्झटलगायत दर्जनौं गुनासो राखेका थिए । सेवाग्राही विद्यार्थीहरूको कुरा सुनेपछि मन्त्री श्रेष्ठले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यसपछि मन्त्री श्रेष्ठले हालै कार्यालय प्रमुख भएर पुग्नुभएका वस्तीसँग समस्या समाधानका उपायबारे छलफल गर्नुभएको थियोे । छलफलमा कार्यालय प्रमुख वस्तीले एक साताभित्रै सर्भरलगायत सबै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

उहाँले शाखामा जनशक्तिको अभावका साथै अनलाइन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएपछि मन्त्री श्रेष्ठले तत्काल समस्या समाधानका लागि मन्त्रालयलगायत सरोकारवाला निकायलाई निर्देशन दिनुभएको थियो। एनओसी शाखाका अनुसार कन्सल्टेन्सीले फारम भराउँदा मनपरी गरेका कारण समस्या आएको हो।

अनलाइनबाट सबै काम गर्नुपर्ने अवस्थामा कन्सल्टेन्सीको भरपर्दा समस्या आएको शाखाको ठम्याइ छ। लामो समयदेखि समस्या देखिएको एनओसी शाखामा अधिकांश कार्यालय प्रमुख लामो समयसम्म बस्नै चाहँदैनन्। यो शाखा केशरमहलमा हुँदा पनि त्यस्तै समस्या थियो, अनलाइन सेवा शुरू गर्दासमेत त्यतिकै समस्या देखिएको छ । सर्भरका कारण समस्या आएको जनाए पनि मुख्य कारण जनशक्तिको अभाव देखिएको छ।

मन्त्री श्रेष्ठले एनओसी शाखामा कुन सेवा कहाँबाट कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा जानकारी दिन आवश्यक रहेकोमा जोड दिँदै सेवा प्रवाहलाई व्यवस्थित गर्न कामअनुसार झ्याल छुट्टयाउन निर्देशन दिनुभएको थियो। मन्त्रीको निर्देशनलगत्तै लाइनलाई व्यवस्थित गर्न नेपाल स्काउटको टोली परिचालन गरिएको थियो।