लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा

98
Shares

कास्की ।

 लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौँ, नुवाकोट, काभ्रे र गण्डकी प्रदेशका ८ जिल्ला सहित ११ जिल्ला समेटिएको डिस्ट्रिक्ट ३२५ आई नेपालको चैत्र तीन गते राष्ट्रिय सभागृह काठमांडौमा हुने दोस्रो महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मूल आयोजक समितिका संयोजक महेश पाण्डेले बताए ।

प्रतिनिधि सभाका उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता सम्पन्न हुने महाधिवेशनमा डिस्ट्रिक्ट ३२५ आई नेपालमा आबद्ध १ सय ८० क्लबहरुबाट करिब १ हजार ५ सय बढीको उपस्थिति रहने डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी समेत रहेका संयोजक पाण्डेले बताए ।

सामाजिक क्षेत्रमा सक्रिय उक्त डिस्ट्रिक्टले महाधिवेशन मार्फत आगामी लायन वर्ष २०२४/२५ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनबाट हालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगाना डिस्ट्रिक्ट गभर्नर पदमा निर्वाचित हुने छन् ।

त्यस्तै, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा हालका द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे र हालका चिफ डिस्ट्रिक्ट एड्भाईजर सूर्य कुमार केसी द्धित्तिय भाइस डिस्ट्रिक्ट गभर्नर निर्वाचित हुनेछन्।

अधिवेशनमा नेतृत्व चयनसँगै डिस्ट्रिक्टले प्राप्त उपलब्धिहरूको समीक्षा, क्लब र डिस्ट्रिक्टमा उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यहरुलाई अवार्डेड सहित पुरस्कारहरु वितरण लगायतका गतिविधि हुनेछन् ।

अधिवेशन व्यवस्थित र उत्कृष्ट तवरले सम्पन्न गर्न डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी महेश पाण्डेको नेतृत्वमा विभिन्न उपसमितिहरू तथा सल्लाहकार मण्डल समेत गठन भएका छन् । कार्यक्रम व्यवस्थापन गर्नको लागि लायन्स क्लब अफ काठमाडौँ मीड टाउनले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेको छ ।

महाधिवेशन उद्घाटनको पूर्व सन्ध्यामा महाधिवेशन स्थल परिसरमा पिस परेड हुनेछ । उक्त परेडमा क्लबको लेटर हेड वा क्लबको पहिचान हुने गरी क्लबले वर्ष भरी सम्पादन गरेका सामाजिक सेवा कार्य झल्किने ब्यानर सहित उपस्थित हुन अनुरोध गरिएको ब्यानर व्यवस्थापन एवं मूल्याङ्कन उपसमिति संयोजक अमृत शोभा खत्रीले जानकारी गराइन् । महाधिवेशनमा लियो डिस्ट्रिक्ट ३२५ आई नेपालको पनि अधिवेशन हुदैछ ।