‘एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन्’ 

644
Shares

कञ्चनपुर । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन् ।

उनले काङ्ग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रस्ट पारे । ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने । एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए ।

काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रस्ट पारे । ‘काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो । उसले एमाले जस्तो पार्टीलाई टेरेन । आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता  पनि औँल्याए । ‘हामी लोकतान्त्रिक प्रणालीमा छौं । बहुदलीय व्यवस्थामा छौं । दलहरू फरक–फरक हुन्छन् । विचार फरक–फरक होला । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औँल्याए । ’सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ ओलीको भनाई थियो ।

दोधारा चाँदनी वडा नं ६ का वडाअध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उदघाटनसमेत गरे । सो क्रममा अध्यक्ष ओलीले प्रशंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिएका छन् ।