निर्घात  कुटिए  प्रमुख प्रशासकीय अधिकृत

10.5k
Shares

डडेल्धुरा । 

डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थित परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा विवाद उत्पन्न भएपछि प्रमुख प्रशासकीय अधिकृतमाथि निर्घात कुटपिट भएको छ ।

बिहीबार कार्यपालिका बैठक बसिरहेकै बेला प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठक चलिरहेका बेला नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधीहरुले कुटपिट गरेको नगरपालिकाका प्रवक्ता खगेन्द्रबहादुर सिंहले जानकारी दिए । कार्यपालिकामा उपमेयरसहित नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन्  । कुटपिटबाट गम्भीर घाइते भएका प्रमुख प्रशासकीय अधिकृत जोशीको जोगबुडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जोशीको टाउकोमा तीनवटा टाँका लगाइएको र गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय पत्रकार पदम जोराका अनुसार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न कार्यपालिका बैठक डाँकिएको थियो । बैठकमा विवाद भएपछि माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरुले कुर्सी हानेको प्रवक्ता सिंहले जानकारी दिए।

नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । बिहीबार बोलाइएको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले आफूहरूले काज फिर्ता गर्न नसक्ने बताएका थिए ।

 

सोही विषयमा आक्रोशित माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि हातपात गरेको जनाइएको छ । यस्तै केही समयअघि नगरपालिकाकी उपमेयर विमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेको र सो माग पुरा नभएपछि उपमेयर बोहराले कार्यपालिका बैठकमा विवाद गरेको थाहा भएको छ ।

हाल एक सामुदायिक विद्यालयमा विद्यालय कर्मचारीका रुपमा कार्यरत आफ्ना श्रीमानलाई करारमा परशुराम नगरपालिकामा जागिर खुवाउन असफल भएपछि अधिकृतसँग उपमेयर विमलाले रिसिइवी राखेको बताइएको छ ।

तत्कालीन जिल्ला विकास समिति डडेल्धुरामा लामो समय कार्यक्रम अधिकृतका रुपमा कार्यरत जोशी कर्मचारी समायोजनपछि परशुराम नगरपालिकाका योजना अधिकृतका श्रपमा कार्यरत थिए । जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

 घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।