एनएनआइपिए अवार्डलाई केडिया ग्रुपको प्रायोजन



काठमाडौं ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआइपिए स्पोर्ट्स अवार्डको १८औं संस्करण आयोजनाका लागि केडिया ग्रुपले प्रायोजन गर्ने भएको छ ।

बिहीबार तीन वर्ष प्रायोजन गर्ने सम्झौतामा केडिया ग्रुपले एक पुरुष महिला सर्वोकृष्ट खेलाडीका लागि जनही १ लाख तथा अवार्ड व्यवस्थापनका लागि ५० हजार गरी वार्षिक रूपमा २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । सम्झौता पत्रमा केडिया ग्रुपका प्रवन्ध निर्देशक विमल केडिया र आयोजक एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले हस्ताक्षर गरे ।

अवार्ड कार्यक्रम चैत १२ गते हुनेछ । अवार्डमा कार्यक्रममा गत वर्ष आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित खेल संघले सिफारिस गरेका खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ । विगतका केही वर्षदेखि काठमाडौं, ललितपुर तथा भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृतिक सहरहरुमा हुँदै आएको यो कार्यक्रम यसपटक ललितपुरमा हुने आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रममा ३६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार, एकजना वरिष्ठ खेल ब्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान र एक जनालाई वर्षको उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले १ लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी खेल पत्रकार र खेल ब्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्