सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँ : शंकर पोखरेल

448
Shares

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता गठबन्धन देशमा विकास र सुशासन दिन बनेको बताएका छन् ।

बिहीबार वीरगञ्जमा आयोजित नेकपा एमालेको पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ गठबन्धन बनाइएको बताए ।

अब निराशालाई तोड्नु पर्छ भनेर नेकपा एमाले लागेको उनले प्रष्ट पारे । ‘सुशासन र विकास के हो भन्ने कुरा अब हामी जनताको बिचमा देखाउन चाहन्छौँ’, पोखरेलले भने । पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकेको बताए । महासचिव पोखरेलले क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने बताए ।

मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका उनले टिप्पणी गरे । तर उनीहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलले बताए । अहिले पनि मधेसको राजनीतिलाई क्षेत्रीयता तर्फ नै होम्ने प्रयास भइरहेको उनले बताए । तर त्यसले समग्र मधेसको हित गर्न नसक्ने पोखरेलले प्रष्ट पारे ।

एमालेलाई मधेस विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले बताए । नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उनको भनाइ छ । मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उनको धारणा छ ।

नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उनले बताए । छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उनले दाबी गरे ।

कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेका उनले बताए । विकासको काम गर्न नेकपा एमाले नै आउनु परेको पोखरेलको भनाइ छ ।आज मधेसको रूप रङ्ग फेरिनुको मुख्य कारण नेकपा एमाले भएको उनले दाबी गरे । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भने ।

नेपालको पानीमा पहिलो अधिकार नेपालको छ भन्ने कुराको आधारमा नदीको पथान्तरको काम नेकपा एमालेले सुरु गरेको पोखरेलले बताए । नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उनले जानकारी दिए । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उनले प्रष्ट पारे ।

नेकपा एमालेलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि नेपालको दुर्भाग्यको दिन सुरु भएको उनले बताए। एमाले सरकारबाट हटेपछि विकास र समृद्धिका सबै काम रोकिएका पोखरेलले प्रष्ट पारे । आज मुलुक चरम निराशामा डुबेको उनको धारणा छ ।

राष्ट्र निर्माणको लागि बलियो राजनीतिक दल, स्थिरता र स्थायित्व जरुरी रहने उनले बताए। नेपालको सन्दर्भमा यो क्षमता नेकपा एमालेसँग मात्र रहेको पोखरेलले प्रष्ट पारे । नेपाली समाजको मनोविज्ञान बुझेर देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले भएको पोखरेलले दाबी गरे ।

त्यसैले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आवश्यक रहेको उनले बताए । मधेस प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अभियान सुरु गर्ने पनि पोखरेलले जानकारी दिए । मधेस प्रदेशका सबै जिल्लामा पार्टी अध्यक्षलाई ल्याउने योजना पार्टीले बनाएको उनले बताए ।