मन्दिर तोडफोड गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं।

मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवाबाट एक जनालाई बुधबार पक्राउ गरेको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-८ रहेको राजदेवी मन्दिर र मलंगवा नगरपालिकास्थित झिलमिलिया माई मन्दिरमा रहेको मूर्ति तोडफोड गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका -८ घर भएका ३३ वर्षीय राकेश बैठालाई पक्राउ गरेको हो ।

प्रहरीले बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । बैठाले गएको मंगलबार साँझ मन्दिर तोडफोड गरेर भागेपछि प्रहरीले विषेशसुत्रको आधारमा पक्राउ गरिएको जानकारी दिएको छ ।

मन्दिर तोडफोडमा संलग्न बैठालाई धर्म सम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

धार्मिक स्थल तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा कसुरमा पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुने उल्लेख गरिएको छ।