एमाले रोल्पाको अध्यक्षमा बुढामगर विजयी

182
Shares

रोल्पा ।

नेकपा एमालेको रोल्पा अध्यक्षमा अमृत बुढामगर विजयी भएका छन् । रोल्पाको सातौँ जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन।

रोल्पाको भावी एमाले नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको सो पार्टीले जनाएको छ। गत मंगलबार सुरु भएको अधिवेशन पछि भावी नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन पक्रिया सुरु गरिएको थियो।

जसअनुसार अध्यक्षमा अमृत बुढामगर र घनश्याम आचार्य प्रतिस्पर्धामा उत्रिएका थिए। सो प्रतिस्पर्धाको मत परिणाम पछि बुढामगरले १९५ मत ल्याएका थिए भने आचार्य ११२ मतमा सीमित हुन पुगेका थिए। सोही अधिवेशनबाट उपाध्यक्षमा विजयकुमार घर्तीमगर भने सर्वसम्मत हुन सफल भएका छन्।

उता, सचिवमा नेपबहादुर थापा विजयी भएका छन्, थापाले १८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मतमा सीमित हुनु परेको थियो। उपसचिवमा बमबहादुर पुन, महिला उपसचिवमा रमिता डाँगी विजयी भएका छन् । सो अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए।