सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गर्ने

168
Shares

काठमाडौं ।

सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्। देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरू आज जनदबाब सिर्जना गर्न प्रदर्शन गर्न लागेका हुन्।

चैत मसान्तभित्र सबै सहकारी पीडितहरूको सावाँ ब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरूको सम्बोधन नभएको उनिहरुले बताएका छन्।

पीडितहरूले आजको प्रदर्शनका लागि कालीमाटी, गोङ्गबु नयाँ बसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे र्‍याली निकालेर पाँचै टोली सुनधारामा भेला हुने तय छ। त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरूले कोणसभा गर्ने कार्यक्रम छ।

सहकारी पीडितहरूको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ। महासंघका अध्यक्ष कुशलभ केसीले आफूहरुले सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरु सहकारी विभागमा गएर बस्ने चेतावनी दिए।